एकीकृत बजार अनुगमन सुरु

काठमाण्डु टुडे २०७० असोज १८ गते ४:४६ मा प्रकाशित

भक्तपुर, १८ असोज – चाडपर्वमा उपभोक्ता नठगिऊन् भनेर आन्तरिक राजस्व कार्यालय भक्तपुरले एकीकृत बजार अनुगमन सुरु गरेको छ । कार्यालयले बजारमा उपभोक्ताले सामान खरिद गरेपछि भ्याट बिल लिने नगरेको र बिक्रेताले पनि भ्याट बिल दिने नगरेको पाइएपछि यसलाई चुस्त बनाउन बजार अनुगमन सुरु गरेको कार्यालयका प्रमुख उत्तमभक्त वाग्लेले जानकारी दिए । आफ्नो कार्यालय क्षेत्रभित्र सचेतनासहितको बजार अनुगमन सुरु गरेको बताउँदै उनले कार्यालयले बजारमा ‘बिल बिजक लिऊँ दिऊँ’ भनेर उपभोक्ता र बिक्रेतालाई सचेतना दिँदै एकीकृत बजार अनुगमन सुरु गरेको बताए ।

बजार अनुगमनका क्रममा भ्याट बिलमा कारोबार गर्ने गरे/नगरेको, खातापाता सञ्चालन गरे/नगरेको, मूल्यसूची राखे/नराखेको, कालोबजारी भए/नभएको लगायतको कार्यलाई हेरिनेछ । कार्यालयले चरिकोटबाट सुरु गरेको अनुगमनलाई कार्यालयको कार्यक्षेत्रभित्र रहेको भक्तपुर, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, रामेछाप र दोलखामा पनि अनुगमन सञ्चालन गर्ने छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us