
काठमाण्डु, १८ असोज – नेपाल प्रहरीले संविधानसभा निर्वाचनलाई सफल पार्न मातहतका सबै निकाय र कर्मचारीहरुलाई निर्देशन दिएको छ । ५८ औं प्रहरी दिवसको अवसरमा शुक्रबार शुभकामना सन्देश दिदै प्रहरी महानिरीक्षक कुवेर सिंह रानाले यस्तो निर्देशन दिएका हुन् ।
‘संविधानसभाको आसन्न निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराउन कर्तव्यनिष्ठ रहन विशेष निर्देश गर्दछु,’ रानाको शुभकामना सन्देशमा उल्लेख छ ।
राष्ट्र र नागरिक सेवामा अझ कर्मठ, योग्य र इमान्दार रहन आग्रह गर्दै उनले सबै प्रहरी कर्मचारीहरु आफ्नो कर्मक्षेत्रमा अझ दृढताका साथ प्रस्तुत हुने विश्वास व्यक्त गरेका छन् ।
रानाले जारी गरेको शुभकामना सन्देशमा हालसम्म १ हजार ५ सय ५१ प्रहरीको कर्तव्यपालनाको सिलसिलामा ज्यान गुमाएको उल्लेख छ ।
५८ औं प्रहरी दिवसको अवसरमा शुक्रबार प्रहरी प्रधान कार्यालय नक्शालमा विशेष कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा कर्तव्य पालनाको सिलसिलामा ज्यान गुमाएकाहरुप्रति श्रद्धान्जली अर्पण गरिएको छ ।
दिवसको अवसरमा बर्षभरी उत्कृष्ट काम गरेका प्रहरीहरुलाई सम्मान गर्ने कार्यक्रम पनि तय भएको छ । कार्यक्रममा गृहमन्त्री माधव घिमिरे, प्रहरी महानिरीक्षक कुवेर सिंह रानालगायतको सहभागीता छ ।