पन्ध्र गाविस सञ्चारसेवाबाट वञ्चित

काठमाण्डु टुडे २०७० असोज १८ गते ३:११ मा प्रकाशित

जाजरकोट, १८ असोज – जाजरकोटको पश्चिम क्षेत्रका १५ वटा गाउँ विकास समितिमा तीन हप्तादेखि टेलिफोन सेवा अवरुद्ध भएको छ । चट्याङ लागेर टावरमा क्षति पुगेपछि टेलिफोन सेवा अवरुद्ध भएको हो ।

ती गाविसलाई लक्षित गरी मजकोट–६ मा बनाइएको एक मात्र स्काई फोनको टावर बिग्रिएको तीन हप्ता बितिसक्दा पनि बन्न नसकेपछि स्थानीय बासिन्दा सञ्चारविहीन भएका हुन् । टेलिकम कार्यालयको उदाशीनताका कारण टावरको मर्मत हुन नसकेको स्थानीय बासिन्दाले आरोप लगाएका छन् । अन्य फोनको सुविधा नभएको त्यस क्षेत्रमा स्काई फोन एक मात्र सञ्चारको माध्यम थियो तर त्यही पनि बिग्रिएको धेरै दिन भइसक्दा पनि नबन्दा जिल्ला सदरमुकाम खलङ्गा र अन्य क्षेत्रको सञ्चार सम्पर्कविच्छेद भएको स्थानीय शिक्षक रामबहादुर शाहीले बताए ।

नेपाल टेलिकम जाजरकोटका प्रमुख हरिजङ्ग शाहले टावर मर्मतका लागि आवश्यक सामग्री जिल्लामा नभएकाले मर्मतमा ढिलाइ भएको बताए । सामान र प्राविधिक नेपालगन्जबाट आउनुपर्नेमा कार्य व्यस्तताका कारण दसैँपछि मात्र आउने जानकारी पाएको प्रमुख शाहको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us