सर्बोच्चमा न्यायाधीश नियुक्ति दसैं अघि असम्भव

काठमाण्डु टुडे २०७० असोज १८ गते ४:५७ मा प्रकाशित

supreme-court-nepalकाठमाण्डु, १८ असोज– दसैं अघि सर्बोच्च अदालतमा न्यायाधीश नियुक्तिको सम्भावना सकिएको छ । घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म सबै तहका अदालत बिदा हुने भएकाले दसैं अघि न्यायाधीश नियुक्तिको सम्भावना नदेखिएको हो ।

सर्वोच्चमा मुद्दाको भार बढ्दै गएको र एकल, संयुक्त, विशेष र आवश्यकता अनुसार पूर्ण इजलास सञ्चालन हुने हुँदा दैनिक कार्यसूचीमा राखिएका अधिकांश मुद्दाको पेशी सार्नुपर्ने स्थिति सिर्जना भएकाले थप न्यायाधीश नियुक्त गर्नुपर्ने आवश्यकता छ । प्रधानन्यायाधीशसहित १४ जनासम्म स्थायी न्यायाधीश आवश्यकताअनुसार अन्य न्यायाधीश रहन सक्ने सर्वोच्चमा हाल कायममुकायम प्रधानन्यायाधीशसहित पाँच स्थायी र पाँच अस्थायी न्यायाधीश बहाल रहेकाले कार्यसम्पादन प्रभावित भएको छ ।

सर्वोच्च अदालतमा न्यायाधीश नियुक्तिलगायतका विषयमा छलफल गर्न विहीबार डाकिएको न्यायपरिषदको बैठक पनि बिनानिश्कर्ष टुङ्गिएको छ । बैठक अनिश्चितकालकालागि स्थगित भएको न्यायपरिषदका निमित्त सचिव कृष्ण गिरीले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us