एएफसी यु–१९ फुटबलमा नेपाल र तुर्कमेनिस्तान भिड्दै

काठमाण्डु टुडे २०७० असोज १८ गते १:३२ मा प्रकाशित

AFC-U19-Championshipकाठमाण्डु, १८ असोज–एएफसी उन्नाइस वर्षमुनि (यु–१९) च्याम्पियनसिप छनोट चरण प्रतियोगिताको उद्घाटन खेलमा नेपालले शुक्रबार तुर्कमेनिस्तानको सामना गर्नेभएको छ । कतारको राजधानी दोहास्थित अल अरबी रङ्गशालामा समूह ‘ए’ अन्तर्गतको छनोट खेलमा नेपाल र तुर्कमेनिस्तान भिड्न लागेका हुन् ।

समूह ‘ए’ मा नेपाललगायत भारत, उज्वेकिस्तान र कतार रहेका छन् । विजेता टिमले सन् २०१४ मा म्यानमारमा आयोजना हुने एएफसी च्याम्पियनसिप प्रतियोगितामा प्रतिष्पर्धा गर्नेछ ।

आयोजक म्यानमारसहित विभिन्न नौं समूहमा विभाजित गरिएको उक्त प्रतियोगितामा प्रत्येक समूहका विजेता टिम र उपविजेतामध्ये उत्कृष्ट घोषित हुने ६ टिम गरी कुल १६ राष्ट्रले प्रतियोगितामा भाग लिन पाउनेछन् ।

नेपाली टिममा गोलरक्षक वीरेन्द्रबहादुर चन्द, एलन न्यौपाने र द्रोण थापा रहेका छन् भने रक्षकमा विवेक बस्नेत, कालु थापा, व्रिजेशकुमार सिंह, विवेकप्रताप पन्त, निरज बस्नेत, सञ्जय राजबाहक र आदित्य चौधरी छन् ।

यसैगरी मिडफिल्डमा कप्तान सुलभ मास्के, भूषण सुब्बा, अनिल गुरुङ, धीरज तामाङ र हेमन गुरुङ रहेका छन् भने फरवार्डमा सुमन लामा, असिमजङ्ग कार्की र राम थापा छन् । असोज २६ गतेसम्म सञ्चालन हुने सो प्रतियोगितामा नेपालले आफ्नो दोस्रो खेल २० गते भारत, २२ गते उज्वेकिस्तान र २४ कतारसँग खेल्नेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us