सहयोग गर्न मन भए पुग्छ, सहयोगको उत्कृष्ट नमुना चालक तामाङ

काठमाण्डु टुडे २०७० असोज १८ गते १५:१८ मा प्रकाशित

काठमाण्डु–सहयोग गर्न मन भए पुग्छ, कसैले छेकबार गर्न सक्दैन । भनिन्छ ‘कर्म गर्दै जानुपर्छ फल आफै लाग्छन् ।’ हो ! चालक कामीसिंह तामाङको मन यति उदार र उदाहरणीय रहेछ जुन सबैका लागि अनुशरणीय बनेको छ ।
कलङ्की–कोटेश्वर रुटमा ६३८९ नम्बरको हरियो माइक्रो चलाएर तामाङले जीवन धानिरहेका छन् । पाँच वर्षदेखि उनको दैनिकी र रोजीरोटी यसैमा चलिरहेको पनि छ । आफ्ना माइक्रोमा यात्रा गर्ने यात्रुले कहिलेकाहीँ सामान बिर्सन्छन् अथवा खसाल्छन् । सामान जति बहुमूल्य भए पनि तामाङलाई त्यसले पटक्कै आकर्षित गर्दैन ।
यात्रुले बिर्सेर गएका सामानलाई तामाङ जतनका साथ राख्दछन् । पछि कुनै माध्यमबाट खोजीखोजी सोही व्यक्तिलाई दिन्छन् । दिन नसकेको खण्डमा मात्र प्रहरीको जिम्मा लगाइदिन्छन् । हो ! आफ्नै पाखुरीमा विश्वास गर्ने तामाङको मनको उदारताको समाचार बनाउने माध्यम आज राससका समाचारदाता विष्णु नेपालले पाए ।
समाचारदाता नेपालले बिहान ९:१५ तिर कलङ्कीबाट तामाङको माइक्रोमा चढी नयाँ बानेश्वरमा ओर्लेका थिए । “निर्वाचनसम्बन्धी समाचार सङ्कलनमा हताए थिएँ, खल्तीबाट मोबाइल खसेको पत्तो नै पाइन”, समाचारदाता नेपालले भने ।
कार्यक्रमस्थलमा पुगेको करिब एक घण्टापछि मात्र मोबाइल खसेको समाचारदाता नेपालले जानकारी पाएछन । चालक तामाङले मोबाइललाई सुरक्षित रूपमा राखी रासस समाचार कक्षबाट गएको फोनलाई रिसिभ गरी मोबाइल पाएको जानकारी दिएछन पनि । “पछि अर्काे फोनबाट तामाङसित सम्पर्क भएपछि जुन ठाउँमा ओर्लिएको हो, त्यही ठाउँमा आउन चालक तामाङले भनेपछि जाँदा त उहाँ माइक्रो रोकेर कुरिरहनुभएको रहेछ”, समाचारदाता नेपालले भने ।
रामेछापको गाउँसरा गाउँ विकास समितिको वडा नं १ भोर्ले निवासी चालक तामाङले भने, “दुईदिन अगाडि रु ३० हजार पर्ने मोबाइल पाएको थिएँ । यसैगरी बोलाएर फिर्ता गरेँ ।” उहाँले केही उपहार दिन चाहनुभएको थिएँ लिन मानिनँ । हालसम्म फोनमात्रै दुईसय भन्दा बढी पाएँ होला तर एउटामा पनि आँखा लगाइन चालक तामाङले भने  “म आफ्नै कर्ममा विश्वास गर्छु, अर्काको वस्तुमा मलाई मोह छैन । सकेसम्म अरूको अहित हुने कुनै काम गरुँ जस्तो लाग्दैन ।”
चालक तामाङले यात्रुले गाडी चढ्दा जति हतार भए पनि गाडी नम्बर र चालकको अनुहार एकपटक हेर्न सुझावसमेत दिए । विसं २०४८ तिर चालकको अनुमति पाएका तामाङले यसअघि ट्याक्सी, विक्रम ट्याम्पो चलाएका थिए । त्यहाँ पनि उनले यस्तै उदाहरण देखाएको जानकारी दिए । टेलिकमका अनुसार उपत्यकाभित्र मात्र दैनिक रूपमा २०० भन्दा बढी मोबाइल हराएको कारण सिम कार्ड बन्द गर्न आग्रह आउने गर्दछ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us