दुई माओवादीको झडपमा दर्जन घाइते

काठमाण्डु टुडे २०७० असोज १७ गते ९:०३ मा प्रकाशित

salyanसल्यान, १७ असोज–एकीकृत नेकपा (माओवादी) र नेकपा–माओवादीबीच बिहिवार दिउँसो खलङ्गाको पुरानो बसपार्कमा झडप भएको छ । झडपमा परी दुवै पक्षका गरी एक दर्जन घाइते भएका छन् । घाइतेहरुको जिल्ला अस्पताल र स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

घाइतेमध्ये सल्यान–रुकुम यातायातका अध्यक्ष रहेका एकीकृत नेकपा (माओवादी)का राज्य समिति सदस्य लोकमान बुढाथोकीको टाउकोमा चोट लागेको छ ।
यस्तै नेकपा–माओवादीका जिल्ला इञ्चार्ज असल क्षेत्री, श्याम भण्डारी, गणेशमान सिंह, केशवराज शर्मा, बोधिराम विष्टलगायत एक दर्जन घाइते भएको नेकपा–माओवादीले जनाएको छ । नेकपा–माओवादीका घाइतेमध्ये श्याम भण्डारीको अवस्था गम्भीर रहेको सो पार्टीले जनाएको छ ।
दिउँसो १२ बजेतिर नेकपा–माओवादी सल्यानले चार दलको पुत्ला दहन गरिरहेको समयमा एकीकृत माओवादीका कार्यकर्ता उम्मेदवारी दर्ता गर्न जानेक्रममा झडप भएको थियो । झडपका कारण सदरमुकाम खलङ्गा दिनभर तनावग्रस्त रहेको छ ।
झडपमा दुवै पक्षबाट ढुङ्गा प्रहार गर्दा सदरमुकाममा रहेका केही पसलमा समेत क्षति पुगेको छ । झडपमा लाठी तथा ढुङ्गा हानाहान भएपछि सर्वसाधारणको विचल्ली भएको थियो । प्रहरीले दुवै पक्षलाई झन्डै २० मिनेटको झडपपछि तितरबितर गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us