बागलुङ–बुर्तिवाङखण्डमा सिधा यातायात सुरु

काठमाण्डु टुडे २०७० असोज १७ गते ८:११ मा प्रकाशित

बागलुङ, १७ असोज–वर्षायाम सुरु भएसँगै अवरुद्ध मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ–बुर्तिवाङ सडकखण्डमा सिधा यातायात सुचारु भएको छ ।
धौलागिरि अञ्चल जिप व्यवसायी समितिले गलकोटमा पर्ने दरमखोलामा ढाँट मर्मत गरेपछि सिधा यातायात सेवा सञ्चालनमा आएको हो ।  यसअघि गत असारदेखि दरमखोलालगायत सडकखण्डमा पर्ने अन्य खोलामा पानीको सतह बढेपछि सिधा यातायात सेवा अवरुद्ध बनेको थियो । ठाउँ ठाउँमा यातायातका साधन परिवर्तन गरेर यात्रा गर्नुपर्ने बाध्यता थियो ।
सदरमुकामदेखि ९५ किमि दूरीमा अवस्थित बुर्तिवाङ बजार पुग्न पाँच ठाउँमा गाडी परिवर्तन गर्नुपर्ने बाध्यता हटेको धौलागिरि अञ्चल जिप व्यवसायी समिति बागलुङका उपाध्यक्ष होमबहादुर बस्नेतले जानकारी दिए । बर्सेनि वर्षायाम सुरु भएसँगै सिधा यातायात सञ्चालनमा कठिनाइ आउने गरेको छ । मध्यपहाडी लोकमार्गअन्तर्गत गौँदी खोला, दरमखोला, गिरिङ्दी खोला, बडिगाढलगायत खोलामा पुल निर्माण हुन नसक्दा यात्रुले सास्ती खेप्नुपर्ने बाध्यता छ । हिउँदभर भने खोलामा पानीको सतह घट्ने हुँदा सिधा यातायात सञ्चालन हुने गरेको छ ।
दरमखोलाको ढाँट मर्मत भएसँगै ग्रामीण क्षेत्रका अन्य सडकमा पनि यातायात सञ्चालनमा आएको समितिले जनाएको छ । सदरमुकामदेखि सिधा रुपमा मल्म गाविस, पाण्डवखानी, रिघालगायत गाविसमा यातायातका साधन सुचारु भएको समितिका उपाध्यक्ष बस्नेतले जानकारी दिए । ठाउँ ठाउँमा गाडी परिवर्तन गरिरहनुपर्ने अवस्थाका कारण यात्रु पनि वर्षायाममा यात्रा गर्दा महँगो भाडा तिर्न बाध्य थिए ।  वर्षायाममा कठिनाइपूर्ण यात्रा त छँदैछ त्यसमा पनि बुर्तिवाङसम्मको ९५ किमि दूरी पार गर्न एक हजारदेखि एक हजार दुई सय रुपैया सम्म भाडा तिर्न बाध्य थिए भने उक्त दूरीको सडक पार गर्न पूरा एक दिनको समय लाग्ने गरेको थियो । उक्त सडकखण्डमा बस, जिपदेखि अन्य यात्रुवाहक र मालवाहक सवारी चल्ने गरेका छन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us