प्रधानसेनापति राणाको अमेरिका भ्रमण स्वीकृत

काठमाण्डु टुडे २०७० असोज १७ गते ८:०३ मा प्रकाशित

Army chiefकाठमाण्डु १७ असोज–प्रधानसेनापति गौरवशम्शेर राणा कात्तिक ४ देखि ७ गतेसम्म संयुक्त राज्य अमेरिका जाने भएका छन । प्रधानसेनापति राणाको नेतृत्वमा कात्तिक ४ देखि ७ गतेसम्म संयुक्त राज्य अमेरिकाको होनोलोलुमा हुने १६ औं वार्षिक ‘चिफ अफ डिफेन्स’सम्बन्धी बैठकमा भाग लिने निर्णय बिहिवार मन्त्रिपरिषदले गरेको छ ।
आगामी कात्तिक १८ देखि २२ सम्म थाइल्यान्डको बैंककमा हुने एसियाली मन्त्रीहरुको पारवहन मञ्चसम्बन्धी बैठकमा भौतिक पूर्वाधार योजना तथा मन्त्रीको नेतृत्वमा दुई सदस्यीय प्रतिनिधिमण्डल, रक्षा सचिव आत्माराम पाण्डेको नेतृत्वमा सुरक्षासँग सम्बन्धित उच्च अधिकृत रहेको प्रतिनिधिमण्डलले चीनको बेइजिङमा यही असोजको अन्तिममा हुने रक्षा सम्मेलन तथा कात्तिक २९ –२२ सम्म न्युजिल्यान्डको रोटोरोवामा हुने एसिया प्रशान्त वन आयोगको वैठकमा वन तथा भूसंरक्षण सचिव डा गणेशराज जोशीको नेतृत्वमा पाँच सदस्यीय प्रतिनिधिमण्डलले भाग लिने निर्णय पनि मन्त्रिपरिषद्को बैठकले गरेको छ ।
पानामाको पानामा सिटीमा आउँदो मङ्सिर १०–१४ गतेसम्म हुने भ्रष्टाचारविरुद्ध राष्ट्रसङ्घीय महासन्धिको पक्ष राष्ट्रहरुको पाँचौँ सम्मेलनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयका सचिव राजुमानसिंह मल्लको नेतृत्वमा चार सदस्यीय नेपाली प्रतिनिधिमण्डल र सूचना तथा सञ्चार मन्त्रालयका सचिव ध्रुवप्रसाद शर्मालाई कात्तिक ६ देखि १३ गतेसम्म अस्ट्रेलियामा आयोजना हुने बैठकमा भाग लिन स्वीकृति दिइएको छ ।
बैठकले दक्षिण एसियाली उपक्षेत्रीय आर्थिक सहायता सडक सञ्जाल आयोजना कार्यान्वयनका लागि एसियाली विकास बैंकबाट प्राप्त हुने ऋण सहायता करिब सात अर्ब ३५ करोड रुपैया स्वीकृत गर्ने निर्णय गरेको छ । सो सम्बन्धी सम्झौतामा सरकारका तर्फबाट अर्थसचिव वा सहसचिवलाई हस्ताक्षर गर्न स्वीकृति दिइएको छ ।
यस्तै कानुन तथा न्याय मन्त्रालयबाट प्रस्ताव गरिएको मेलमिलापसम्बन्धी ऐन २०६८ लागू गर्ने र मेलमिलापसम्बन्धी नियमावली २०७० को मस्यौदा स्वीकृत गर्ने प्रस्ताव मन्त्रिपरिषद्को विधेयक समितिमा पठाउने र सो समितिको सिफारिसबमोजिम आवश्यक कार्यान्वयन सरकारले गर्ने निर्णय भएको छ । पारस्परिक कानुनी सहायता नियमावली २०७० स्वीकृत गर्नेसम्बन्धी कानुन, न्याय, संविधानसभा तथा संसदीय व्यवस्था मन्त्रालयको प्रस्तावलाई मन्त्रिपरिषद्को विधेक समितिमा पठाएर सो समितिको निर्णयबमोजिम कार्यान्वनय गर्ने निर्णय पनि भएको छ ।
यसैगरी सम्पत्ति शुद्धीकरण (मनी लाउन्ड्रिङ) निवारण नियमावली २०७० को मस्यौदालाई स्वीकृत गर्नेसम्बन्धी अर्थ मन्त्रालयको प्रस्ताव मन्त्रिपरिषद्को विधेयक समितिमा पठाएर सो समितिको निर्णयबमोजिम कार्यान्वयन गरिने निर्णय पनि सो बैठकले गरेको सरकारका प्रवक्ता माधवप्रसाद पौडेलले बताए ।
बैठकले सूचना तथा सञ्चार मन्त्रालयको प्रस्तावअनुसार नेपाल दूरसञ्चार कम्पनी लिमिटेड टेलिकममा रणनीतिक साझेदार भित्र्याउनेसम्बन्धी प्रस्तावको सैद्धान्तिक स्वीकृति दिएको छ ।
सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको प्रस्तावबमोजिम वातावरणमैत्री स्थानीय शासनको खाका, २०७० स्वीकृत गर्ने प्रस्तावलाई मन्त्रिपरिषद्को सामाजिक समितिमा पठाएर सो समितिको निर्णयबमोजिम .कार्यान्वयन गर्ने निर्णय गरिएको पनि सूचना तथा सञ्चारमन्त्री पौडेलले बताए ।
राष्ट्रिय आवास कम्पनी लिमिटेड सञ्चालक समितिका अध्यक्ष विनयकुमार कर्ण तथा राष्ट्रिय दलित आयोगका सदस्यहरु राजुप्रसाद चमार र खेमराज नेपालको राजीनामा पनि सोही बैठकले स्वीकृत गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us