प्रत्यक्षतर्फ उम्मेदवारी मनोनयन हुँदै

काठमाण्डु टुडे २०७० असोज १७ गते ४:५७ मा प्रकाशित

आगामी मंसिर ४ गतेका लागि तय संविधानसभा चुनावमा प्रत्यक्ष प्रणालीतर्फ उम्मेदवार हुनेहरुले विहीबार देशभर आ-आफ्नो मनोनयन दर्ता गराउंदैछन्।

यो मनोनयनअघि प्राय सबै दलले आन्तरिक विवादका बाबजुद लगभग सबै क्षेत्रका लागि आफ्ना उम्मेदवारहरुको टुंगो लगाइसकेका छन्।

विहीबार चुनाव विरोधी पक्षले अवरोध गर्न सक्ने सम्भावनालाई ध्यानमा राखेर सरकारले सुरक्षा व्यवस्था कडा पारिएको जनाएको छ।

सबै ७५ वटै जिल्लाका सदरमुकाममा रहेका निर्वाचन अधिकृतको कार्यालयहरुमा बिहान १० देखि सांझ ५ बजेसम्म उम्मेदवारी मनोनयनका लागि समय तोकिएको छ।

चुनावी ज्वरोको औपचारिक प्रस्थानविन्दु मानिने प्रत्यक्षतर्फको यो मनोनयनका लागि निर्वाचन आयोगले सम्पूर्ण तयारी पूरा गरिसकेको जनाएको छ।

आयोगका प्रवक्ता वीरबहादुर राईले भने, “२४० निर्वाचन क्षेत्रका लागि उम्मेदवारी मनोनयनका लागि आवश्यक सबै तयारी पूरा भइसकेको छ।”

समानुपातिकतर्फ भाग लिने दलहरुको अन्तिम नामावली प्रकाशन गर्न र निर्वाचन चिन्ह प्रदान गर्न आयोगले विहिबारकै दिन तोकेको छ।

कार्यतालिका अनुसार दलहरुले शुक्रबार समानुपातिकतर्फ उम्मेदवारहरुको बन्द सूची बुझाउनुपर्नेछ।

तर प्रत्यक्षतर्फका उम्मेदवारहरु टुंगो लगाउन बुधबार अबेर रातिसम्म दौडधुप गरेका दलहरुले विहिबार उपलब्ध एक दिनमै समानुपातिकतर्फको सूची तयार पार्ने बताएका छन्।

६ वर्षपछि अर्को संविधानसभा चुनावको यस्तो चटारो तीव्र बन्दै जांदा चुनावविरोधी एउटा राजनीतिक पक्ष भने प्रक्रिया बाहिरै छ।

नेकपा-माओवादी नेतृत्वको उक्त असन्तुष्ट पक्षले गर्नसक्ने भनिएको अवरोधलाई ध्यानमा राखी सुरक्षाव्यवस्था कडा पारिएको अधिकारीहरुले बताएका छन्।

गृह मन्त्रालयका सहायक प्रवक्ता उद्धव भट्टराईले भने, “सम्बन्धित जिल्ला तथा स्थानीय सुरक्षा निकायलाई आवश्यक प्रबन्ध मिलाउन भनी सकिएको छ।”

असन्तुष्ट पक्षले विहिबारका लागि कुनै औपचारिक कार्यक्रम सार्वजनिक नगरेपनि उसले विरोधसभाहरु गर्ने तयारी भएको बताएको छ।  Sour bbc

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us