
नेपालगन्ज, १७ असोज–दसँै र तिहारलाई दृष्टिगत गरी नेपाल खाद्य संस्थान अञ्चल कार्यालय नेपालगन्जले निर्धारण गरेको जिउँदो खसीबोका खरिदको दररेटप्रति बाँकेका मासु व्यवसायीले विरोध जनाएका छन् ।
उनीहरूले संस्थानले कामय गरेको दररेटले स्थानीय व्यापारी मर्कामा परेको गुनासो गरेका हुन् । विरोधस्वरुप व्यवसायीले कोहलपुरमा संस्थानको खसीबोका खरिद केन्द्रमा अवरोधसमेत पु¥याएका छन् ।
संस्थानले २५ किलोदेखि माथिको खसीको प्रतिकिलो रु ३३५, २० देखि २५ किलोसम्मको प्रतिकिलो रु ३३० र १६ किलोभन्दा माथिको बोकाको प्रतिकिलो रु ३२५ मूल्य कायम गरेको छ ।
उक्त दररेट काठमाडौँका लागि मात्र सुहाउँदो रहेको भन्दै मासु व्यवसायी आन्दोलित बनेका हुन् । संस्थानले मनपरी खसीबोकाको मूल्य निर्धारण गरेर स्थानीय व्यवसायी तथा उपभोक्तालाई मर्कामा पारेको भन्दै कोहलपुर क्षेत्रका व्यवसायीले बुधबारदेखि खसीको मासु बिक्री बन्दसमेत गरेका छन् ।
जिल्लामा हाल जिउँदो खसी प्रतिकिलो रु २३५ देखि २५० सम्म खरिद भइरहेका बेला एक्कासि संस्थानले रु ८५ रुपैयाँ बढाउँदा स्थानीय व्यापारी मर्कामा परेको खसीबोका व्यापार सङ्घ कोहलपुरका अध्यक्ष कृष्णबहादुर खत्रीले बताए ।
“संस्थानले हाल कायम गरेको दररेटमा खसीबोका खरिद गरी मासु बिक्री गर्दा प्रतिकिलो रु ७०० देखि ८०० सम्म पुग्न जान्छ”– अध्यक्ष खत्रीले भने । हाल बाँकेको नेपालगन्ज, कोहलपुर लगायतका स्थानमा खसीको मासु प्रतिकिलो रु ५०० मा बिक्री भइरहेको छ । उता नेपाल खाद्य संस्थान अञ्चल कार्यालय नेपालगन्जका प्रमुख शङ्कर सापकोटाले सबैको सहमतिमा उक्त दररेट कायम गरेको दाबी गरे । रासस