दुई महिनादेखि सुर्खेतमा ग्यासको हाहाकार

काठमाण्डु टुडे २०७० असोज १७ गते ३:५० मा प्रकाशित

सुर्खेत, १७ असोज–दसै‌तिहार लगायतका चाडपर्व नजिकिँदै गर्दा सुर्खेतमा ग्यासको हाहाकार भएपछि यहाँका सर्वसाधारणलाई दसै‌का बेला घरमा कसरी आगो बाल्ने हो भन्ने चिन्ता हुन थालेको छ ।
खाना पकाउनका लागि प्रयोग हुँदै आएको ग्यास दुई महिनादेखि हाहाकार भएपछि सर्वसाधारणलाई सास्ती भएको छ । जिल्लामा एक महिनामा १२ हजारभन्दा बढी ग्यास सिलिन्डरको आवश्यक पर्ने भए पनि पछिल्लो दुई महिनामा अधिकांश उपभोक्तालाई ग्यास आपूर्ति भएको छैन । १२ हजार सिलिन्डर ग्यास आउनुपर्नेमा साउनमा सात हजार ८४५ सिलिन्डर र भदौमा नौ हजार ६३२ सिलिन्डर ग्यास मात्रै आपूर्ति भएको आयल निगमले जनाएको छ ।
आयल निगमका अनुसार सुर्खेतबाट हरेक महिनामा भेरीले ६ हजार र मनकामना, राप्ती र रेडियन्टले दुई/दुई हजार सिलिन्डर ग्यास माग गरेको भए पनि ग्यास आपूर्ति हुन नसक्दा उपभोक्ता मर्कामा परेको आयल निगम सुर्खेतका प्रमुख ईश्वर बरालले बताए । उनका अनुसार सुर्खेतमा भेरी ग्यासले मात्रै प्रत्येक महिना ६ हजार ५०० सिलिन्डर आपूर्ति गर्नुपर्ने भए पनि साउनमा चार हजार र भदौमा चार हजार ५०० सिलिन्डर मात्रै आपूर्ति गरेको छ ।
त्यस्तै रेडियन्टले साउनमा तीन हजार सिलिन्डरको माग गरेकामा एक हजार ३५० र भदौमा एक हजार ६५० मात्रै पूर्ति गरेको छ । मनकामनाले तीन हजार ५०० माग गरेकामा साउनमा एक हजार ३५० र भदौमा एक हजार ८४७ र राप्ती ग्यासले चार हजार माग गरेको भए पनि साउनमा एक हजार १४५ र भदौमा एक हजार ७३५ वटा सिलिन्डर मात्रै आपूर्ति गरेको आयल निगम सुर्खेतको तथ्याङ्कमा उल्लेख छ ।
यहाँबाट ग्यासको आधिकारिक बिक्री गर्ने गरेको भेरी ग्यास उद्योग बाँकेले भारतको बरुनीबाट ग्यास ल्याउने गरेकोमा अहिले त्यहाँको कम्पनीमा ग्यास उत्पादन गर्ने मेसिन मर्मत गर्नुपर्ने भन्दै ग्यास उत्पादन रोकिएकाले ग्यास आपूर्तिमा असहजता आएको हो । हाल भेरी लगायतका कम्पनीले भारतकै मथुराबाट ग्यास ल्याउन थालेपछि ढुवानी बढेको भन्दै ग्यासको मूल्यप्रति सिलिन्डर ३ देखि ५ रुपैयाँ बढाउन दबाब दिन आएकोले ग्यासका बुलेटहरु रुपैडिया नाकामा नै रोकिराखेका छन् ।
मथुराबाट ग्यास ल्याउँदा लागेको ढुवानी आयल निगमले तिर्नुपर्ने माग राख्दै कम्पनीले दबाब दिन खोज्दा बजारमा ग्यास अभाव भएको आयल निगमको भनाइ छ । १२ दिनदेखि भेरीले भारतको मथुराबाट ल्याएको आठ र अन्यका चार गरी १२ बुलेट ग्यास रुपैडियामा नै थन्काइएका छन् ।
ग्यास व्यापारीले नै ग्यास आपूर्तिमा असहज वातावरण गराएको भेरी ग्यास सुर्खेतको आधिकारिक बिक्रेता नन्दनी टे«डर्सले यहाँको प्रशासनलाई जानकारी गराएपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले तत्काल ग्यास आपूर्ति सहज बनाउन भेरी ग्यास नेपालगन्जलाई पत्र पठाएको छ ।
“अब केही दिनमा नै ग्यासको सहज आपूर्ति हुन्छ”– प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम कुँवरले भने ।  यता जिल्लाका ग्यास बिक्रेता भने ग्यास पसलमा ताला गलाएर सम्पर्कविहीन भएर बसेका छन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us