अल्ट्रा लाइट जहाज दुर्घटनामा दुईजनाको मृत्यु

काठमाण्डु टुडे २०७० असोज १७ गते ४:०५ मा प्रकाशित

Putali jahajकास्की, १७ असोज – पोखरामा अल्ट्रा लाइट जहाज विहीबार विहान दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा चालक पोखराका स्टेफन श्रेष्ठ र एक चिनियाँ पर्यटकको मृत्यु भएको हो । दुवैको शव चरक अस्पतालमा राखिएको छ ।

पोखरा विमानस्थलबाट उडेको जहाज विहान साढे आठ बजेतिर पुम्दी भुम्दी गाविसको शान्ति स्तूपा भन्दा झण्डै २ सय मिटर तल धानखेतमा खसेको पत्रकार एमबी आस्थाले जनाएका छन् ।

विजुलीको पोलमा ठोक्किएर जहाज भुईंमा बजारिएको प्रत्यक्षदर्शी स्थानीय सूर्य विकले जानकारी दिए । जहाजको इन्जिन बन्द भएर दुर्घटना भएको अनुमान गरिएको छ । यद्यपी दुर्घटनाको कारण एकीन भैसकेको छैन । विहान सिमसिम पानी परिरहेकोबेला जहाज उडाइएको थियो । कतिपयले खराब मौसमले दुर्घटना भएको हुनसक्ने अनुमान गरेका छन् । दुर्घटनामा जहाज पूरै क्षत विक्षत भएको छ ।

पोखरा उपत्यकाको मनोरम दृष्य अवलोकन गर्न पर्यटकहरुले अल्ट्रा लाइट जहाज प्रयोग गर्दछन् । सो जहाजले पर्यटकलाई घुमाउन पोखरा उपत्यकामा मात्र उडान भर्दछ । एक चालक र एक यात्रु गरी दुईजना मात्र अट्ने सो जहाजलाई स्थानीयले ‘पुतली जहाज’ नाम दिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us