सवारी दुर्घटनामा दुईजनाको मृत्यु, १५ घाइते

काठमाण्डु टुडे २०७० असोज १७ गते ३:१५ मा प्रकाशित

काठमाण्डु, १७ असोज – महोत्तरी र मुस्ताङमा भएका छुट्टा छुट्टै सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । अन्य १५ जना घाइते भएका छन् ।

महोत्तरीको बर्दिबासमा बसको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुर नगरपालिका–१३ बस्ने ३० वर्षीय सरोज ठाकुर रहेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकलको पछाडी सवार महोत्तरीको एकरहिया–४ बस्ने ४० वर्षीय भूपेन्द्र साह गम्भीर घाइते भएका छन् । घाइते साहको काठमाण्डुस्थित बी एन्ड बी अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक अशोक झाले जानकारी दिए ।

गएराति करिब ९ बजेको समयमा ठाकुर मोटरसाइकल चढेर घरतर्फ गइरहेको अवस्थामा राजविराजबाट यात्रु बोकी काठमाण्डुका लागि छुटेको ना ४ ख ६०७१ नम्बरको बसले महोत्तरीको बर्दिवास–१ स्थित भोला बसन्त चोकमा ठक्कर दिएको थियो । बसको ठक्करबाट गम्भीर घाइते भएका ठाकुरलाई उपचारका लागि बर्दिवास–१ स्थित होप अस्पतालमा लगिएको एकछिनमै चिकित्सकले मृत घोषणा गरेका थियए । ठक्कर दिने बस र त्यसका चालकलाई इलाका प्रहरी कार्यालय बर्दिवासले नियन्त्रणमा लिएको छ ।

दुर्घटनामा एकको मृत्यु, चौध घाइते

यसैबीच बेनी–जोमसोम सडकखण्ड अन्तर्गत मुस्ताङको लेते छाक्ताङमा बुधबार साँझ भएको माइक्रोबस दुर्घटनामा एक महिलाको मृत्यु भएको छ । नाम, ठेगाना खुल्न नसकेकी अन्दाजी ४५ वर्षीया महिलाको जिल्ला अस्पताल जोमसोममा उपचारका क्रममा मृत्यु भएको हो ।

दुई विदेशी पर्यटकसहित सातजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । दुर्घटनामा एक भारतीयसहित तीनजना विदेशी नागरिक र १० नेपाली यात्रु घाइते भएका र उनीहरुको जिल्ला अस्पताल जोमसोम र प्राथमिक स्वास्थ्य केन्द्र लेतेमा उपचार भइरहेको छ ।
घाँसाबाट जोमसोम आउँदै गरेको ध १ ख १५५ नम्बरको बस सडकबाट कालीगण्डकी किनारमा खसेको थियो । स्विस नागरिक मोनिका अम्रिन केलर र जोस्ट केलर गम्भीर घाइते भएका छन् भने जर्मन नागरिक माइकल थुमन, इटालियन नागरिक वर्यनर मेलापेस सामान्य घाइते भएका छन् ।

गम्भीर दुई विदेशी नागरिक र पाँच नेपालीलाई बिहानै हेलिकोप्टरबाट उपचारका लागि पोखरा पठाउने प्रयास भइरहेको प्रहरीनायब उपरीक्षक गोविन्दप्रसाद भट्टराईले बताउनुभयो । माइक्रोबस चालकलाई हालसम्म नभेटिएको प्रहरीको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us