
काठमाण्डु, १७ असोज– राप्रपा नेपालका अध्यक्ष कमल थापा संविधानसभामा प्रत्यक्षमा चुनाव नलड्ने भएका छन् ।
काठमाण्डु– ५ र मकवानपुर–१ बाट उठ्ने तयारी गरेका थापाले अन्तिम समयमा आएर प्रत्यक्षमा नलड्ने निर्णय गरेका हुन् । थापा नलड्ने भएपछि काठमाण्डु–५ मा शाहीकालीन मेयर राजाराम श्रेष्ठ र मकवानपुर–१ बाट उनकी धर्मपत्नी प्रलीता थापा उठ्ने भएका छन् । राप्रपा नेपालका केन्द्रीय सदस्य एवम् प्रचार संयोजक मोहन श्रेष्ठले देशभर चुनावी अभियानमा लाग्नुपर्ने भएकाले अध्यक्ष थापा प्रत्यक्षमा नउठ्ने निर्णय भएको जानकारी काठमाण्डु टुडेलाई दिए ।
‘अध्यक्षज्यू काठमाण्डु र मकवानपुरबाट उठ्ने तयारी थियो’, श्रेष्ठले भने, ‘तर चुनावी अभियानका क्रममा देशभर पुग्नुपर्ने भएकाले उहाँ नउठ्ने हुनुभएको छ ।’ उनले अध्यक्ष थापाको नाम पार्टीले समानुपातिक सूचीमा राखे को बताए । स्रोतका अनुसार प्रत्यक्षमा निर्वाचन हारिने डरका कारण समानुपातिकबाट पक्का गर्न थापा चुनाव नउठ्ने भएका हुन् ।
‘नेताभन्दा अभिनेता फटाहा’
यसैबीच राप्रपा नेपालले आफ्नो पार्टी प्रवेश प्रवेश गर्ने अन्तिम तयारी गरेर पनि एमालेमै बसेको नायक भुवन केसीलाई कुनै हालतमा आफ्नो पार्टीले टिकट नदिने स्पष्ट गरेको छ । सामाजिक सञ्चजालहरुमा केसीलाई राप्रपा नेपाले उम्मेदवार बनाउन सक्ने चर्चा भइरहेको छ । ‘नेताभन्दा अभिनेता फटाहा र धोकेबाज हुँदा रहेछन्’, श्रेष्ठले भने, ‘उनलाई टिकट दिने कुरा त परै जाओस् हामी कुरासमेत गर्न तयार छैनौं ।’
श्रेष्ठले चलचित्रमा जस्तै भुवनले आफूहरुलाई अभिनयको शैलीमा छक्याएकामा अध्यक्ष थापा भुवनसँग क्रुद्ध बनेको बताए । राप्रपा नेपालको पार्टी सदस्यसतासमेत हात पारिसकेका भुवन पार्टी प्रवेश कार्यक्रमसमेत आयोजना भइसकेपछि सञ्चो नभएको भन्दै एमालेमै बसेका थिए । एमालेले काठमाण्डु–१ बाट टिकट दिने निर्णय गरेपछि आन्तरिक किचलो बढेका कारण उनको उम्मेदवारी खोसेको थियो ।