उम्मेदवार छान्दा गल्ती भयो : कोइराला

काठमाण्डु टुडे २०७० असोज १७ गते ४:३० मा प्रकाशित

sushilकाठमाण्डु, १७ असोज– नेपाली काँग्रेसले संविधानसभा चुनावका उम्मेदवार छान्दा गल्ती भएको स्वीकार गरेको छ । उसले गल्ती कमजोरीलाई बिर्सेर चुनावमा होमिन पनि सबै कार्यकर्ताहरुलाई निर्देशन दिएको छ ।

सभापति सुशील कोइरालाले विहीबार विज्ञप्ति निकालेर कतिपय स्थानमा योग्य र निष्ठावान नेताहरुलाई उम्मेदवार बनाउन नसकेको स्वीकार गरेका हुन् । कतिपय कमजोरीका कारण उपयुक्त छनौट हुन नसकेको वास्तविकता स्वीकार गर्दै उनले आगामी दिनमा जिम्मेवारी पूरा गर्न नचुक्ने प्रतिबद्धता जनाएका छन् ।

‘उम्मेदवार चयन गर्दा समावेशी सिद्धान्तलाई आत्मसाथ गर्दै विद्यमान संविधान र विधिअनुसार जाति, क्षेत्र, लिङ्ग आदिको सन्तुलन मिलाउनु पर्ने वाध्यता भएकाले निश्चित सीटहरुमा क्षमतावान नेताहरु पनि पछि पार्नुपरेको’ विज्ञप्तिमा उल्लेख छ ।

उम्मेदवार चयनका असन्तुष्टिलाई बिर्सेर पार्टीको सिद्धान्त र मर्मअनुरुप एकढिक्का भइ अघि बढ्न कार्यकर्ताहरुलाई निर्देशन दिइएको छ । निर्वाचनका उम्मेदवारप्रति विभिन्न जिल्लामा कार्यकर्ताको असन्तुष्टि बढेपछि काँग्रेस सभापति कोइरालाले विज्ञप्ति नै निकालेर सबैलाई एकजुट भइ चुनावमा होमिन निर्देशन दिएका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us