एक तिहाई महिला उम्मेदवार सिफारिस गर्न निर्वाचन आयोगको आग्रह

काठमाण्डु टुडे २०७० असोज १६ गते १४:४५ मा प्रकाशित

Suprava-Ghimireकाठमाण्डु, १६ असोज–निर्वाचन आयोगले अर्को संविधानसभामा निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीअनुसार एक तिहाई महिला उम्मेदवार मनोनयन गर्न राजनीतिक दललाई निर्देशन दिएको छ ।
संविधानसभा सदस्य निर्वाचन अध्यादेश २०७० मा उल्लेख गरिएको प्रावधानमा रहेर मङ्सिर ४ गते हुने अर्को संविधानसभा निर्वाचनमा भाग लिन इच्छुक राजनीतिक दललाई कानुनी अवस्थालाई ध्यानमा राखेर उम्मेदवार मनोनयन गर्न भनेको हो ।
आयोगले एक प्रेस विज्ञप्ति जारी गरी समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत हुने निर्वाचनमा भाग लिन निवेदन दर्ता गराएका कुनै पनि दलले निवेदन फिर्ता नलिएको आयोगले जनाएको छ ।
सुप्रभा घिमिरेद्वारा काँग्रेस परित्याग

नेपाली काँग्रेसकी नेतृ सुप्रभा घिमिरेले पार्टी परित्याग गरेकी छिन् । बुधबार काठमाण्डुमा पत्रकार सम्मेलन गरी घिमिरेले काँग्रेसको सम्पूर्ण निर्णय प्रकृयाबाट अलग भएको घोषणा गरेकी हुन् ।

अघिल्लो संविधानसभा चुनावमा काठमाण्डु क्षेत्रनम्बर ४ बाट विजयी घिमिरेले यसपाली पनि सोही क्षेत्रबाट उम्मेदवारी दावी गरे पनि गगन थापालाई टिकट दिएपछि उनी असन्तुष्ट थिइन् ।

पत्रकार सम्मेलनमा घिमिरेले युवा शक्तिको नाममा काँग्रेसभित्र अस्वस्थ चलखेल बढेको र समग्र महिलाको अपमान भएकोले पार्टी छाडेको जानकारी दिइन् । पार्टी छाड्ने निर्णय लिदा आफूलाई दुःख लागेको पनि उनले सुनाईन् । ‘पार्टीबाट निर्णय प्रकृयामा महिलालाई निषेध गर्ने वा आलंकारिक प्रतिनिधित्व मात्रै गराउने गरिएकाले महिलाको प्रतिनिधित्व अर्थहीन भएको छ,’ पत्रकार सम्मेलनमा नेतृ घिमिरेले भनिन्, ‘यसै परिप्रक्ष्यमा आज म नेपाली काँग्रेसको सम्पूर्ण उत्तरदायीत्वबाट अलग गर्ने तितो निर्णय दुःखको साथ लिदै छु ।’

उनले काँग्रेस छाडे पनि तत्काल अरु पार्टीमा प्रवेश नगर्ने र बाहिरै बसेर महिला हकहितको लागि लडिरहने प्रतिबद्धता जनाइन् । उनले भनिन्, ‘एमाओवादीको बोलीको ठेगान छैन, एमालेको आफ्नै अडान छैन । त्यसैले म कुनै पार्टीमा जाँदैन बाहिरै बसेर महिला अधिकारको पक्षमा लडिरहन्छु ।’

काँग्रेस काठमाण्डु २ ले पार्टी उम्मेदवार बहिस्कार गर्ने

नेपाली काँग्रेस काठमाण्डु क्षेत्र नम्बर २ ले आफ्नै पार्टीको उमेदवार वहिस्कार गर्ने घोषणा गरेको छ । सिफारिस गरेर पठाएको भन्दा बाहिरबाट केन्द्रले प्रतिमा गौतमलाई उमेदवार बनाएको भन्दै क्षेत्रीय समितिले बहिस्कार गर्ने घोषणा गरेको हो ।

बुधबार काठमाण्डुमा पत्रकार सम्मेलन गर्दै क्षेत्रीय सभापति उपेन्द्र कार्कीले निर्णय तत्काल पुनरावलोकन गरेर सिफारिस गरेको ब्यक्तिलाई नै उमेदवार नतोके क्षेत्रीय समितिका पदाधिकारी र सदस्यहरुले सामूहिक रुपमा राजिनामा दिने चेतावनी दिए ।

चुनाव खर्च नभएको भन्दै टिकट फिर्ता
उता संविधानसभा निर्वाचनमा झापा क्षेत्र नम्बर ६ बाट उम्मेदवार तोकिएकी काँग्रेस उम्मेदवार फूलवती राजवंशीले टिकट फिर्ता गरेकी छन् ।
आफूसँग निर्वाचन लड्न सक्ने पैसा नभएको भन्दै उनले टिकट पार्टीलाई फिर्ता गरेकी हुन् । काँग्रेस क्षेत्रीय कमिटीले ६ जनामध्ये राजवंशीको नाम पहिलो नम्बरमा राखेर उम्मेदवार सिफारिस गरेको थियो । राजवशंकी पार्टी महासमिति सदस्य हुन् । राजवंशीले टिकट फिर्ता गरेपछि उक्त स्थानमा अर्का महासमिति सदस्य रामकुमारी पौड्याललाई उठाउने गृहकार्य भइरहेको बताइएको छ ।

काँग्रेसले २४० वटै प्रत्यक्ष उम्मेदवारको टुङ्गो लगायो
नेपाली काँग्रेसले आगामी संविधानसभा निर्वाचनका लागि २४० वटै निर्वाचन क्षेत्रका उम्मेदवारको टुङ्गो लगाएको छ । पार्टी कार्यालय सानेपामा एकसाता लामो कसरत र रस्साकस्सीपछि प्रत्यक्षका उम्मेद्वारको टुङ्गो लगाएको हो ।
काँग्रेसले बुधवार बिवादित जिल्ला तनहँु र स्याङजाका उम्मेद्वारको पनि टुङ्गो लगाएको पार्टी कार्यालयले जनाएको छ । काँग्रेस तनहुँमा निर्वाचन क्षेत्र नम्बर १ मा केन्द्रीय सदस्य शंकर भण्डारी, क्षेत्र नम्बर २ मा पार्टी उपसभापति रामचन्द्र पौडेल र क्षेत्र नम्बर ३ मा जितप्रकाश आलेलाई उम्मेदवार बनाएको छ । यस्तै स्याङजा क्षेत्र नम्बर १ मा राजु थापा, क्षेत्र नम्बर २ मा कमल पंगेनी र क्षेत्र नम्बर ३ मा मोहनप्रसाद पाण्डलाई उम्मेदवार बनाएको छ ।
उम्मेदवारको टुङ्गोसँगै पार्टीले दिने उम्मेद्वार मनोनयन पाएका काँग्रेस नेताहरू आ–आफ्नो निर्वाचन क्षेत्र फर्केका छन् । समानुपातिकतर्फको ३३५ को उम्मेद्वारको पनि करिब टुङ्गो लागिसकेको काँग्रेस उच्च श्रोतले जनाएको छ । पार्टी कार्यालयभित्र उम्मेदवार छनौटमा शीर्ष नेताहरू जुटिरहँदा कार्यालय परिसरमा काँग्रेस नेता कार्यकर्ताको बाक्लो चहलपहल देखिन्थ्यो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us