झलनाथका स्वकीय सचिव एमाओवादीमा

काठमाण्डु टुडे २०७० असोज १६ गते १२:०१ मा प्रकाशित

nirmal-2काठमाण्डु, १७ असोज– केही दिनअघि मात्र परित्याग गरेका एमाले अध्यक्ष झलनाथ खनालका स्वकीय सचिव निर्मल भट्टराई एकीकृत माओवादी प्रवेश गरेका छन् ।
उनलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नै निवास लाजिम्पाटमा टीका लगाएर बुधबार पार्टी प्रवेश गराए । पार्टी नेतृत्वले उम्मेदवारी छनौटमा पार्टीमा दु:ख गरेका र इमान्दार कार्यकर्तालाई पाखा लगाएको भन्दै भट्टराईले केही दिनअघि एमाले परित्याग गरेका थिए । २०६४ सालको निर्वाचनपछि खनाल कार्यवाहक महासचिव बनेलगत्तै भट्टराईले उनको स्वकीय सचिवका रुपमा काम गर्न थालेका थिए ।
कार्यक्रममा काँग्रेस जाजरकोटका पूर्वसभापति एवम् महासमिति सदस्य यज्ञबहादुर खत्री र जेनिशा भट्टराई एकीकृत माओवादी प्रवेश गरेका छन् । पार्टी प्रवेश कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्डले  नवप्रवेशीलाई क्षमताअनुसारको जिम्मेवारी दिइने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us