पौडेलविरुद्ध गुरुङको वागी उम्मेदवारी

काठमाण्डु टुडे २०७० असोज १६ गते १२:१८ मा प्रकाशित

Ramchandra-Paudelकाठमाण्डु १६ असोज–तनहुँ क्षेत्र नम्बर २ बाट टिकट पाएका उपसभापति रामचन्द्र पौडेललाई आफ्नै कार्यकर्ताले चुनौती दिएका छन् । क्षेत्र नम्बर ३ का पौडेलले २ बाट उम्मेदवारी दिएपछि तरुण दलका केन्द्रीय सदस्य पूर्णबहादुर गुरुङले वागी उम्मेदवारी दिने घोषणा गरेका छन् । गुरुङले बिहीबार जिल्ला निर्वाचन कार्यालयमा स्वतन्त्र उम्मेदवारी दिने बताए ।

उपसभापति पौडेलको घर क्षेत्र नम्बर ३ मा छ । त्यहाँ असुरक्षित महसुस गर्दै पौडेलले २ नम्बर क्षेत्र रोजेका हुन् । आफ्नो टिकट पौडेलले खोसेको भन्दै गुरुङ रुष्ट छन् । ‘उपसभापति ज्यू आफ्नो क्षेत्रमा उम्मेदवारी नदिएर २ मा आउनु भएको छ,’ नेता गुरुङले भने, ‘मलाई पार्टीले टिकट दिन लागेकोबेला उहाँले रोकिदिनु भयो, अब म स्वतन्त्रबाट उम्मेदवारी दिन्छु ।’

दुई नम्बर क्षेत्रका कार्यकर्ताको आग्रहमा आफूले स्वतन्त्रबाट उम्मेदवारी दिन लागेको उनको भनाई छ । तरुण दलका केन्द्रीय सदस्य गुरुङ कांग्रेस नेता खुमबहादुर खड्का निकटका मानिन्छन् ।

उपसभापति पौडेल र खड्काको राजनीतिक समीकरण खासै जम्दैन । यसअघि जेलमा भेट्न गएका पौडेललाई खड्काले हकारेर फर्काइदिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us