
म्याग्दी, १६ असोज–म्याग्दीका सबै माध्यमिक र उच्चमाध्यमिक तहका सामुदायिक विद्यालयमा आधुनिक सूचना तथा सञ्चार प्रविधिको पहुँच पुर्याइने भएको छ । सूचना तथा सञ्चार प्रविधिलाई शिक्षण सिकाइ क्रियाकलापमा अधिकतम उपयोग गर्नका लागि जिल्लाका सबै सामुदायिक मावि र उमावि तहमा यस्को पहुँच पुर्याउन लागिएको जिल्ला शिक्षा अधिकारी विष्णुनारायण श्रेष्ठले जानकारी दिए ।
शिक्षण सिकाइ क्रियाकलापमा सूचना तथा सञ्चार प्रविधिको प्रयोग बढाउन सरकारले उच्च प्राथमिकताका साथ सबै जिल्लामा बजेट विनियोजन गरेअनुसार म्याग्दीमा ८५ लाख ४० हजार रुपैयाँ बराबरको बजेट प्राप्त भएको श्रेष्ठको भनाइ छ । शिक्षण सिकाइमा उक्त प्रविधिको पहुँच पुर्याउन हरेक विद्यालयमा शिक्षा कार्यालयमार्फत सरकारले एक लाख ४० हजार उपलब्ध गराउने र सम्बन्धित विद्यालयको ६० हजार रुपैयाँ साझेदारीमा दुई लाख रुपैयाँले आवश्यक सामग्री खरिद गर्नुपर्ने जनाइएको छ ।
सूचना तथा प्रविधिको प्रयोग गर्नका लागि उक्त बजेटबाट कम्तीमा पाँच थान कम्प्युटर, एक थान प्रिन्टर, इमेल इन्टरनेटको जडान तथा नियमित सञ्चालनलगायत आवश्यक अन्य सामग्री खरिद गर्नमा बजेटको सदुपयोग गर्न विद्यालयलाई पत्राचारसमेत गरेको कार्यालयका शाखा अधिकृत डिल्लीरमण भट्टराईले जानकारी दिए ।
यो वर्ष जिल्लामा रहेका ५८ वटा मावि तहका विद्यालयमा सूचना तथा सञ्चार प्रविधिको प्रयोग गरी पठनपाठन गर्ने, प्रोजेक्टरमार्फत शिक्षण गराउने प्रचलनको विकास गराउनका लागि यो कार्यक्रम सञ्चालन गरिने जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।