एउटै घरका दुईजना चुनावी मैदानमा

काठमाण्डु टुडे २०७० असोज १६ गते ६:१७ मा प्रकाशित

रुकुम, १६ असोज–आसन्न संविधानसभा निर्वाचनमा रुकुम क्षेत्र नम्बर २ मा एकै घरका दुईजनाबीच प्रतिस्पर्धा हुने भएको छ । नेकपा एमालेबाट चुनावी मैदानमा उत्रिएका ठगेन्द्रप्रकाश पुरी र राष्ट्रिय जनमोर्चाबाट प्रत्यक्षमा टिकट पाएकी विष्णु ओली पुरीबीच प्रतिस्पर्धा हुने पक्का भएको हो ।

बाँफीकोट–६ काडा स्थायी घर भएका ठगेन्द्रको आफ्नो सहोदर राइला दाइ रामप्रकाश पुरीकी श्रीमती विष्णुबीच प्रतिस्पर्धा हुने पक्का भएको छ । यसअघि विष्णुलाई राष्ट्रिय जनमोर्चाले समानुपातिकतर्फ सिफारिस गरेपछि प्रत्यक्ष र समानुपातिकमा असर नपर्ने विश्वासमा रहेका देवर–भाउजू अब प्रत्यक्षमा नै लड्ने भएका हुन् ।

राजनीतिक आस्था फरक भएपछि चुनावी मैदानमा भेट हुनु अस्वाभाविक नभएको ठगेन्द्रको भनाइ छ । ‘उहाँ पनि लामो समयदेखि आफ्नो पार्टीमा कटिबद्धताका साथ लाग्नुभएको छ,’ ठगेन्द्रले भने, ‘हाम्रो पार्टीले मलाई टिकट दियो, उहाँको पार्टीले उहाँलाई दिएपछि राजनीतिक मैदानमा त भेट हुने नै भयो, यसलाई अस्वाभाविक रुपमा लिनु हुँदैन र लिएको पनि छैन ।’

उनीहरुको परिवारबाट तीनजना सिफारिसमा परेका छन् । ठगेन्द्र र विष्णु प्रत्यक्षतर्फ भने विष्णुका श्रीमान् तथा ठगेन्द्रका दाइ रामप्रकाश पुरीलाई राष्ट्रिय जनमोर्चाले भक्तपुरबाट समानुपातिकमा सिफारिस गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us