बाधा अड्काउ फुकाउबिरूद्धको बहस दशैंपछि

काठमाण्डु टुडे २०७० असोज १६ गते ६:१६ मा प्रकाशित

supreme-court-nepalकाठमाण्डु, १६ असोज–बाधा अड्काउ फुकाउ आदेश तथा मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीबिरुद्ध दायर सातवटा रिट निवेदनमा सर्वोच्च अदालतमा प्रारम्भ भएको सुनुवाइ दशैँपछि मात्र हुने भएको छ । यही असोज ३ गते प्रारम्भ भएको बहसमा रिट निवेदक तथा सरकारी पक्षका कानुन व्यवसायीको बहस बाँकी भएकाले दशैँपछि सुनुवाइ गरिने कायममुकायम प्रधानन्यायाधीशसहितको नौं सदस्यीय विशेष इजलासले जनाएको छ ।

ती रिट निवेदनमा दशैँपछिको पेसीको दिन नतोकिएको सहायक प्रवक्ता बाबुराम दाहालले जानकारी दिए । मंगलबारको सुनुवाइमा वरिष्ठ अधिवक्ता तथा संविधानसभाका पूर्वअध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधान संशोधन गर्ने अधिकार संसदलाई मात्र भएको कुरा अदालतले समेत व्याख्या गरिसकेको अवस्थामा सरकारले वाधा अडकाउ फुकाउ आदेशको अपव्याख्या गरेर संविधान संशोधन गरेको बताएका थिए ।

रिट निवेदक अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीले मन्त्रिपरिषद्को समेत अध्यक्षता गर्नुभएका प्रधानन्यायाधीश खिलराज रेग्मीले पछिल्लोपटक जुन पदका लागि सपथ लिए सोही पदप्रति जवाफदेही हुने हुँदा संबैधानिक सर्वोच्चता र शक्ति पृथकीकरणको सिद्धान्तको उपहास हुने गरी दोहोरो पदमा आसिन हुन नहुने बताए । अर्का रिट निवेदक भरतमणि जङ्गमले स्वतन्त्र न्यायपालिका र कानुनको सम्मान गर्छु भन्ने प्रधानन्यायाधीश रेग्मीले उनीबिरुद्ध दायर रिट निवेदनको टुङ्गो नलाग्दै मन्त्रिपरिषदको अध्यक्षता ग्रहण गरेर कानुनको घोर अपमान गरेको टिप्प्णी गरे ।

यसअघि कामु प्रधानन्यायाधीशसहित १० सदस्यीय विशेष इजलासले बाधा अड्काउ फुकाउ आदेश र मन्त्रिपरिषद् अध्यक्षबिरुद्ध परेका २४ वटा छुटृाछुटृै रिट निवेदनमाथि प्रारम्भिक बहसपछि गत भदौ २० गते बाधा अड्काउ आदेश जारी भएपछिका दायर सातवटा रिट मात्र सुनुवाइका लागि राखी बाँकी १७ वटा खारेज गरिएको थियो ।

कामु प्रधानन्यायाधीश शर्मासहितका न्यायाधीशहरू कल्याण श्रेष्ठ, गिरिशचन्द्रलाल, सुशीला कार्की, प्रकाश वस्ती, बैद्यनाथ उपाध्याय, तर्कराज भट्ट, डा. भरतबहादुर कार्की र ज्ञानेन्द्रबहादुर कार्कीको विशेष इजलासमा अधिवक्ता डा. ज्ञवाली, कञ्चनकृष्ण न्यौपाने, डा. गोपाल सिवाकोटी ‘चिन्तन’, सुवास आचार्य तथा जनसरोकार राख्ने ईश्वरी महतो, अमर केसी र जङ्गमका सात निवेदन सुनुवाइको क्रममा पेस भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us