ईरानी राष्ट्रपति भेंडाको रुपमा ब्वाँसो : इजरायली प्रधानमन्त्री

काठमाण्डु टुडे २०७० असोज १६ गते १:५० मा प्रकाशित

काठमाण्डु, १६ असोज – ईजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले ईरानका राष्ट्रपति हसन रुहानी भेडाको रुपमा ब्वाँसो भएको टिप्पणी गरेका छन् । प्रधानमन्त्री नेतन्याहुले ईजरायलले ईरानको सरकारसँग मिलेर काम गर्ने सम्भावनालाई पनि खारेज गरेका छन् ।

न्यूयोर्कमा संयुक्त राष्ट्र संघ महासभालाई सम्बोधन गर्दै ईजरायली प्रधानमन्त्रीले ईरानलाई कुनै पनि हालतमा परमाणु हतियार बनाउन नदिने घोषणा गरे । ईजरायली प्रधानमन्त्री नेतन्याहुले आफू एक्लै नै परे पनि ईरानको परमाणु कार्यक्रमको विरोध जारी राख्ने जनाएका छन् । नेतन्याहुले परमाणु शक्तियुक्त ईरान इजरायलकोलगि खतरा भएको बताउँदै ईरान विरुद्धको आर्थिक नाकाबन्दी अझ कडा बनाउन माग गरे ।

ईराजली प्रधानमन्त्रीले ईरानका पूर्व राष्ट्रपति अहमदिनेजाद र वर्तमान राष्ट्रपति रुहानीको उद्देश्यमा कुनै फरक नरहेको बताउँदै अहमदिनेजाद ब्वाँसोकै रुपमा ब्वाँसो भएको तर रुहानी भेडाको रुपमा ब्वाँसो भएको टिप्पणी गरे । ईजरायली प्रधानमन्त्रीको भनाईप्रति प्रतिकृया दिँदै ईरानले नेतन्याहूको अभिब्यक्ति निकै भड्काउ भएको जनाएको छ । ईरानले आफूले परमाणु हतियार नबनाईरहेको पनि स्पस्ट पारेको छ ।

ईरानमा बल प्रयोगको सम्भावना यथावात : ओबामा

उता ईजरायली प्रधानमन्त्रीलाई आश्वासन दिँदै अमेरिकी राष्ट्रपति बराक ओबामाले ईरानको परमाणु कार्यक्रमबाट छुटकाराको लागि बल प्रयोगको सम्भावना अझै यथावत नै रहेको जनाएका छन् । ईरानका विदेशमन्त्रीले ओबामाको यो भनाई अमेरिकाको ढुलमुले नीति भएको भन्दै आलोचना गरेका छन् ।

यसअघि अमेरिका र ईरानबीचको सम्बन्धमा केही सुधार आएको संकेत देखिएको थियो । राष्ट्र संघीय महासभालाई सम्बोधनका क्रममा न्युयोर्कका रहँदा ईरानी राष्ट्रपतिले अमेरिकी राष्ट्रपतिसँग टेलिफोनमा वार्ता गरेका थिए । ओवामासँग टेलिफोन वार्ता गरेकै कारण ईरानी राष्ट्रपतिले आप्mनो देशमा ब्यापक विरोध झेल्नु परेको थियो । अमेरिकाको राजनीतिमा ईजरायलले निकै प्रभाव राख्ने गर्छ । – एजेन्सीको सहयोगमा

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us