न्यूयोर्कबाट फर्किएपछि रेग्मीले भने–अब चुनाव रोकिन्न

काठमाण्डु टुडे २०७० असोज १५ गते १८:०६ मा प्रकाशित

khilraj-Regmi-Finalकाठमाण्डु १५ असोज–मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले मङ्सिर ४ गतेका लागि तोकिएको संविधानसभाको निर्वाचनलाई अब कसैले छेकेर नछेकिने र रोकेर नरोकिने अवस्थामा पुगिसकेको बताएका छन ।
संयुक्त राष्ट्रसंघको ६८ औँ महासभामा सहभागी भई मंगलवार स्वदेश फर्केपछि अध्यक्ष रेग्मीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकारसम्मेलनमा निर्वाचन हुनेमा दुविधा र कुनै शङ्का नलिन आग्रह गरे । “अब दुई दिनमा मनोनयन प्रक्रिया अघि बढ्छ । त्यसकारणले मलाई लाग्दछ कुनै घटनाक्रम त्यस्तो छैनन् की जसले निर्वाचन नहोस्”उनले भने ‘पूर्ण प्रतिबद्धता र निश्चितताबाट निर्वाचनका सम्पूर्ण प्रक्रिया अघि बढिसकेकाले सानातिना कुराले निर्वाचनलाई असर नतुल्याउने, बरु ती आफैँ हट्दै जानेछन् ।’
निर्वाचन प्रक्रिया अघि बढिसकेको सन्दर्भमा अब निर्वाचनभन्दा अर्को विकल्प नरहेको उल्लेख गर्दै रेग्मीले संविधानसभा र संविधान निर्माण देशको एउटा सामाजिक रूपान्तरण र दायित्वको प्रश्नका रूपमा खडा भएको बताए ।
महासभामा सम्बोधन गर्ने क्रममा आफूले आगामी संविधानसभा निर्वाचनलाई सफल बनाउन वर्तमान सरकार प्रतिबद्धताका साथ क्रियाशील रहेको विषयलाई उच्च प्राथमिकताका साथ उठाएको उनले बताए ।
नेपालले हालसम्म अवलम्बन गर्दै आएको परराष्ट्र नीति र अन्तर्राष्ट्रिय सम्बन्धमा प्रतिबद्धता व्यक्त गर्दै अध्यक्ष रेग्मीले आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणका लागि आगामी दिनमा नेपालले अपनाउनुपर्ने रणनीति र सन् २०१५ पछिको विकास ‘एजेण्डा’का सम्बन्धमा सरकार क्रियाशील रहने धारणासमेत सम्बोधनका क्रममा व्यक्त गरेको जानकारी गराए ।
अध्यक्ष रेग्मीले भने,“जलवायु परिवर्तनको समस्या र यसको असर न्यूनीकरण, मानवअधिकारको संरक्षण, विधिको शासनको प्रत्याभूति, असंलग्नताको नीति, निशस्त्रीकरण तथा रासायनिक हतियारको प्रयोग अन्त्यलगायतका विषयमा नेपालको तर्फबाट स्पष्ट धारणा राखेको छु ।”
महासभामा सहभागी हुने क्रममा संयुक्त राष्ट्रसङ्घका महासचिव बान की मूनसँग भएको भेटमा अध्यक्ष रेग्मीले नेपालको समावेसी विकास हासिल गर्न राजनीतिक स्थायित्वका लागि संविधानसभाको निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न सरकार पूर्ण प्रतिबद्धता रहेको जानकारी गराएका थिए । सो क्रममा महासचिव मुनले नेपालको शान्ति प्रक्रियाले हासिल गरेको सफलताप्रति खुसी व्यक्त गर्नुका साथै निर्वाचनका लागि आवश्यक सहयोग दिने प्रतिबद्धतासमेत व्यक्त गरेका थिए ।
न्युयोर्कमा रहँदा अध्यक्ष रेग्मीले भारतीय प्रधानमन्त्री डा मनमोहन सिंहसँग भएको भेटमा निर्वाचनका लागि सरकारले गरेको तयारी र तोकिएको मितिमै निर्वाचन सम्पन्न हुने आफूले विश्वास गरेको प्रसङ्गसमेत उल्लेख गरे । सो क्रममा भारतीय प्रधानमन्त्री डा सिंहले संविधानसभाको निर्वाचनका लागि भारतले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुका साथै निर्धारित समयममै निर्वाचन सम्पन्न हुने विश्वास व्यक्त गरेको रेग्मीले बताए ।
अध्यक्ष रेग्मीले भ्रमणका क्रममा अमेरिकी सहायक विदेशमन्त्री रोबर्ट ब्लेकलेसँग पनि भेट गरेका थिए ।
भ्रमणका क्रममा अध्यक्ष रेग्मीले त्यहाँ रहेका नेपालीहरूले आयोजना गरेको कार्यक्रममा सहभागी हुनुभएको र त्यसबखत नेपालमा निर्धारित समयमै संविधानसभाको निर्वाचन होस्, मुलुकले शान्ति र स्थायित्व पाओस् र विकासका कार्यक्रम अघि बढोस् भन्ने भनाइ आएको समेत रेग्मीले जानकारी दिए ।
अध्यक्ष रेग्मीले संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगको निरीक्षण गरी त्यहाँबाट भइरहेका काम कारबाही एवम् समस्याका बारेमा जानकारी लिएका थिए ।
स्वदेश फर्कने क्रममा अध्यक्ष रेग्मी संयुक्त अरब इमिरेट्सको राजधानी अबुधावीस्थित नेपाली दूतावासले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी भई त्यहाँ रहेका नेपालीहरूले भोग्नुपरेका समास्याका बारेमा जानकारी लिएका थिए ।
अध्यक्ष रेग्मी यही असोज १० गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दैै न्युयोर्क गएका थिए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us