हिमानीले बाँडिन् अनाथलाई दाल-चामल

काठमाण्डु टुडे २०७० असोज १५ गते १७:०१ मा प्रकाशित

himani ललितपुर, १५ असोज–पूर्वयुवराज्ञी हिमानी शाहले आफ्नो ३८ औं जन्मदिनको अवसरमा ललितपुरको हात्तीवनमा स्थानीय नवकिरण अनाथ तथा असाहय बाल उत्थान समाजद्वारा सञ्चालित अनाथालयका बालबालिकालाई खाद्यान्न तथा लत्ता–कपडा वितरण गरेकी छिन् । अनाथालयमा पुगेर नौ क्वीण्टल चामल, एक क्वीण्टल २० केजी दाल, ९० केजी गेडागुडी, ३० केजी नूनलगायतको खाद्यान्न र केही लत्ता कपडा समाजका कोषाध्यक्ष मैना पोखरेललाई हिमानीले मंगलवार हस्तान्तरण गरेकी हुन् ।

पूर्व युवराज्ञी शाह अनाथालय पुग्दा नवकिरण अनाथ तथा असाहय बाल उत्थान समाजका पदाधिकारी र अनाथालयमा आश्रित ४६ जना बालबालिकाले पुष्पगुच्छाले र माला लगाई दिएर स्वागत गरेका थिए । अनाथ बालबालिकासँग कुराकानी गर्नुसँगै सञ्चालकसँग अनाथालयको आयस्रोतको विषयमा हिमानीले जानकारी लिएकी छिन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us