
बागलुङ, १५ असोज–ढोरपाटन सिकार आरक्षमा यस वर्षको पहिलो सिकार याम सुरु भएको छ । सिकार खेल्न आउने विदेशी ढोरपाटन क्षेत्र पुग्ने क्रम पनि सुरु भएको छ । विभिन्न देशका गरी नौ तालिमप्राप्त सिकारीले यस वर्ष सिकार आरक्षमा सिकार खेल्ने आरक्ष कार्यालयले जनाएको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले यस वर्षको पहिलो सिकार याममा १३ नाउर र ६ झारलको सिकारका लागि सङ्ख्या निर्धारण गरेको छ । हालसम्म ११ नाउर र चार झारलको मात्र सिकारका लागि प्रस्ताव आएको आरक्षले जनाएको छ । हरेक वर्ष दुई याममा सिकारका लागि खुला गरिने सिकार आरक्षको पहिलो याम असोजदेखि मङ्सिरसम्मको रहने आरक्ष कार्यालयका प्रमुख विश्वबाबु श्रेष्ठले बताए ।
यस याममा ट्र्याक एन्ड टे«ल्स प्रालिबाट दुई स्पेनी र दुई मेक्सिकाली, नेपाल वाइल्ड लाइफ एड्भेन्चर प्रालिमार्फत दुई अमेरिकी, नेपाल हन्टिङ सफारीमार्फत दुई रुसी र एक डेनिसले सिकारका लागि प्रस्ताव गरेको बताइएको छ ।
सिकारीले यस याममा सेङ, गुस्तुङ, फागुने, बार्से र दोगाडी ब्लकमा सिकार गर्नेछन् । सुनदह ब्लक निकै टाढा पर्ने भएकाले वन्यजन्तु विभागले टेन्डर आह्वान गरे पनि सिकारीले जान नचाहेकाले सिकार आरक्षले जनाएको छ । उक्त ब्लकमा सिकारका लागि सिकारी नपुग्ने भएपछि सिकार नखेलिने भएको हो ।
विगत वर्षमा एक झारल वा नाउरको सिकार गरेमा प्रत्येक सिकारीले न्यूनतम एक लाख ६० हजारदेखि अधिकतम रु एक लाख ८७ हजारदेखि तिर्ने गरेका भए पनि चालु आवमा सिकारको दर बढेकाले न्यूनतम एक लाख ६५ हजारदेखि अधिकतम रु तीन लाख २० हजार तिर्नुपर्ने आरक्ष प्रमुख श्रेष्ठले जानकारी दिए । सिकार आरक्षको दोस्रो याम आगामी फागुनदेखि वैशाखसम्म चल्नेछ ।
सिकारी हप्तौँसम्म अस्थायी पाल टाँगेर आरक्षमा बस्ने गरेका छन् । साहसिक यात्राका साथमा सिकार खेल्नका लागि ढोरपाटन आरक्ष विदेशीको आकर्षक गन्तव्यका रुपमा विकास हुँदै गएको छ । सिकारीहरु हेलिकप्टर चार्टर गरेर आउने गरेका छन् । रासस