आयोगले संविधानसभा निर्वाचनको अनुगमन गर्ने

काठमाण्डु टुडे २०७० असोज १५ गते ७:३९ मा प्रकाशित

National-Human-Rights-Commissionललितपुर १५ असोज–राष्ट्रिय मानव अधिकार आयोगले आसन्न संविधानसभाको निर्वाचनलाई मध्यनजर गर्दै निर्वाचन अघि, निर्वाचनको समय र निर्वाचनपछि हुनसक्ने मानव अधिकार हननका घटनाहरूबारे अनुगमन गर्ने भएको छ ।
यही प्रयोजनका लागि आयोगको केन्द्रीय, क्षेत्रीय र उपक्षेत्रीय कार्यालयका अधिकृतहरू मंगलवारदेखि सम्बन्धित कार्यक्षेत्रमा खटिएका छन् ।
अनुगमनका क्रममा ‘नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय अनुबन्ध, १९६६’ तथा नेपाल पक्षराष्ट्र भएको मानव अधिकारसम्बन्धी मूल सन्धिहरू, ‘नेपालको अन्तरिम संविधान, २०६३’ आदिले प्रत्याभूत गरेका नागरिकका अधिकारसम्बन्धी प्रावधानहरूको पालना भए–नभएको तथा निर्वाचनसम्बन्धी आचार संहिताको पालना भए–नभएको बारे पनि अनुगमन गर्ने आयोगले जनाएको छ ।
आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, निर्वाचन आयोग, नेपाल सरकार, निर्वाचन पर्यवेक्षणको जिम्मेवारी पाएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था, सुरक्षा निकाय, नागरिक समाजका प्रतिनिधि, मानव अधिकारकर्मीहरूसँग समेत आवश्यकत समन्वय र सहकार्य गरी निर्वाचनको अनुगमन गर्नेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us