उम्मेदवार छान्दा काँग्रेसमा किचलो

काठमाण्डु टुडे २०७० असोज १५ गते ३:३९ मा प्रकाशित

Nepali-Congress-Party-Officeकाठमाण्डु, १५ असोज – संविधानसभा निर्वाचनका लागि उम्मेदवार चयनको म्याराथन बैठकमा जुटेको नेपाली काँग्रेस भित्र तिव्र विवाद भएको छ । पार्टीका प्रत्यक्ष र समानुपातिकतर्फको उम्मेदवार छनोटको लागि संसदीय समितिको बैठक केहीदिनदेखि निरन्तर चलिरहे पनि उम्मेदवार छनोटको टुङ्गो लागिसकेको छैन । यद्यपी काँग्रेसले मंगलबारको संसदीय समिति बैठकबाट २ सय ४० वटै निर्वाचन क्षेत्रका उम्मेदवार टुंगो लगाउने दावी गरेको छ ।

उम्मेदवार चयनका काखापाखा गरिएको भन्दै संसदीय समिति सदस्य सुजाता कोइराला सोमबारको बैठकको बीचबाटै बाहिरिएकी थिइन् । उनले तराई–मधेसमा उम्मेदवार छनौट प्रकृया न्यायसंगत नभएको दावी गरेकी छन् । विराटनगरबाट प्रत्यक्षतर्फको उम्मेदवारीमा दावी गर्दै आएकी कोइरालालाई क्षेत्रीय समितिले समानुपातिकमा समेत सिफारिस नगरेपछि उनी रुष्ट छिन् ।

यसैगरी पार्टीमा परिवारवाद हावी भएको आरोप लगाउँदै सोमबार नेता–कार्यकर्ताले काँग्रेस केन्द्रीय कार्यालय सानेपामा नाराबाजीसमेत गरेका थिए । क्षेत्रीय समितिको सिफारिसलाई लत्याएर राष्ट्रपति डा.रामवरण यादवको छोरा डा. चन्द्रमोहन यादवलाई उम्मेदवार बनाउन लागिएको विरोधमा नाराबाजी भएको थियो । क्षेत्रिय समितिले धनुषा क्षेत्रनम्बर ५ बाट महेन्द्र यादव, कुमार कान्त झा र योगेन्द्र पन्जियारलाई सिफारिस गरेको थियो ।

तर, कार्यकर्ताको भावना विपरित र राष्ट्रपति रामवरण यादवको प्रत्यक्ष हस्तक्षेपमा सिफारिसमा नपरेका चन्द्रमोहनलाई उम्मेदवार बनाउन लागिकोले विरोध गरेको नेता कुमार कान्त झाले बताए । ‘राष्ट्रपतिको प्रत्यक्ष हस्तक्षेपले क्षेत्रीय समितिको सिफारिस विपरित चन्द्रमोहनलाई उम्मेदवार बनाउन लागिएको छ,’ असन्तुष्ट नेता कुमारकान्त झाले सानेपास्थित काँग्रेस केन्द्रीय कार्यालयमा पत्रकारसँग कुरा गर्दै भने, ‘आफ्ना नातागोतालाई उम्मेदवार बनाउने निर्णय हामीलाई स्वीकार्य छैन ।’

काँग्रेसले पार्टी सभापति सुशील कोइराला बाँके  र चितवन, वरिष्ठ नेता शेरबहादुर देउवा डडेलधुरा र कैलाली ६, उपसभापति रामचन्द्र पौडेल तनहुँ क्षेत्र नम्बर २, महामन्त्री प्रकाशमान सिंह काठमाण्डु १ र महामन्त्री कृष्ण प्रसाद सिटौला झापाबाट उठने जनाएको छ ।

पार्टी कार्यालयमा तालाबन्दी

आसन्न संविधानसभा निर्वाचनका लागि स्याङ्जा क्षेत्र नं. १ बाट उम्मेदबार सिफारिस भएका तीनजनाभन्दा बाहिरका नेतालाई संसदीय बोर्डले छनोट गर्न थालेको भन्दै असन्तुष्ट कार्यकर्ताले जिल्ला कार्यसमिति स्याङ्जाको कार्यालयमा तालाबन्दी गरेका छन् ।

उम्मेदवारका लागि नेका क्षेत्र नं १ ले राजु थापा, तुलसीराम रेग्मी र गोपालमान श्रेष्ठमध्येबाट छनोट नगरी जिल्ला सभापति तथा क्षेत्र नं. २ बाट सिफारिसमा परेका कमलप्रसाद पङ्गेनी र धनराज गुरुङमध्येबाट एकजनालाई संसदीय समितिले छनोट गर्न लागेको सार्वजनिक भएपछि कार्यकर्ता असन्तुष्ट बनेका हुन् ।

तालाबन्दीपछि स्याङ्जा क्षेत्र नं १ का क्षेत्रीय सभापति तुलसीराम रेग्मी र पुतलीबजार नगरसमितिका सभापति वेदप्रसाद दोरङ्गाले संयुक्तरूपमा एक प्रेस विज्ञप्ति जारी गर्दै क्षेत्रीय समितिको सिफारिशभन्दा बाहिर गएर कार्यकर्तामाझ लोकप्रिय नेतालाई उम्मेदवार हुन बञ्चित गरिएको भन्दै आपत्ति व्यक्त गरेका छन् ।

काँग्रेसको क्षेत्रीय कार्यालयमा तोडफोड

पार्टी केन्द्रीय समितिले निर्वाचनका लागि तय गरेको उम्मेदवारको विषयमा असन्तुष्ट बनेका नेपाली काँग्रेसका कार्यकर्ताले चितवनको रत्ननगरस्थित निर्वाचन क्षेत्र नं. २ को कार्यालयमा तोडफोड गरेका छन् । तोडफोडबाट कार्यालयभित्रका टेबल र कुर्सीमा क्षति पुगेको छ ।

क्षेत्र नं २ बाट काँग्रेस चितवनले प्रत्यक्षतर्फ डा. तीर्थ खनिया, पूर्व सांसद एकनाथ रानाभाट र निर्माण पौडेललाई सिफारिश गरेको थियो । तर क्षेत्रिय समितिको सिफारिसमा नपरेका शेषनाथ अधिकारीलाई उम्मेदवार बनाउन लागिएको विरोधमा असन्तुष्ट काँग्रेस कार्यकर्ताले आफ्नै पार्टी कार्यालय तोडफोड गरेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us