एमाओवादी उम्मेदवार घोषणाको अन्तिम तयारीमा

काठमाण्डु टुडे २०७० असोज १५ गते ३:१६ मा प्रकाशित

UCPN-Maoistकाठमाण्डु, १५ असोज । एकीकृत नेकपा माओवादीले संविधानसभा निर्वाचनकालागि प्रत्यक्ष तर्फको उम्मेदवार छनौटको गृहकार्य जारी राखेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास लाजिम्पाटमा जारी उम्मेदवार छनौट समितिको बैठकले मंगलबार सबै क्षेत्रका उम्मेदवार टुंगो लगाउने बताइएको छ ।

आइतबार अध्यक्ष प्रचण्ड सहित ३७ क्षेत्रका उम्मेदवार टुंगो लगाएको एमाओवादीले सोमबार थप ४० क्षेत्रका उम्मेदवारको सूची तयार पारेको थियो ।

एमाओवादी अध्यक्ष दाहालका प्रमुख स्वकीय सचिव चुडामणि खड्काले दिएको जानकारी अनुसार पार्टी कार्यालयका मुख्यसचिव हितराज पाण्डे गोरखा क्षेत्र नं. २ बाट चुनाव लड्दैछन् । अघिल्लो संविधानसभामा चुनाव नलडेका उनी पहिलोपटक उम्मेदवार बन्दै छन् । यसैगरी अघिल्लो संविधानसभा चुनावमा दाङ क्षेत्रनम्बर ३ बाट विजयी भएका नेता कृष्णबहादुर महरालाई यसपाली गृहजिल्ला रोल्पा क्षेत्र नं. १ बाट उम्मेदवार बनाइएको छ ।

अघिल्लो संविधानसभा चुनावमा अध्यक्ष प्रचण्डले रोल्पा क्षेत्र नम्बर १ बाट चुनाव जितेका थिए । यसपाली प्रचण्ड काठमाण्डु क्षेत्रनम्बर १० र वामपन्थीको पकड मानिने सिराहा क्षेत्रनम्बर ५ बाट चुनाव लड्दैछन् ।

यसैगरी नेता जनार्दन शर्मा रुकुम क्षेत्र नं १ र वाइसिएलका अध्यक्ष गणेशमान पुनलाई रुकुम क्षेत्र नं. २ बाट उम्मेदवार बनाइएको छ । ओनसरी घर्ती रोल्पा क्षेत्र नं २ बाट चुनाव लड्दैछिन । सो निर्वाचन क्षेत्रमा यसअघि जयपुरी घर्ती विजयी भएकी थिइन् । घर्ती हाल नेकपा–माओवादीमा रहेकाले सो क्षेत्रमा महिला नेतृ ओनसरीलाई उम्मेदवार बनाइएको हो ।

यस्तै पार्टी नेता लोकेन्द्र विष्ट मगरलाई म्याग्दीबाट उम्मेदवार बनाएको छ भने नेता नवराज सुवेदी प्यूठान क्षेत्र नं १ र नेता कृष्णध्वज खड्का प्यूठान क्षेत्र नं. २ बाट उम्मेदवार बनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us