
काठमाण्डु १५ असोज–संविधानसभाको चुनाव बहिष्कार नगर्ने तर सहभागी पनि नहुने निर्णयमा दृढ रहदै आएको राष्ट्रिय नागरिक पार्टीले बिपक्षी दललाई सहभागी नगराई गरिने चुनाव परिणाममुखी नहुने ठहर गरेको छ ।
केही दिन चुनावको मिति सार्दा आकाश नखस्ने बरु निर्धारित मितिमै चुनाव गराउने ढिपी गरिरहदा राजनीतिक आकाश खस्न सक्ने सो पार्टीको बिश्लेषण छ ।
‘विपक्षी दलहरुको ठूलो तप्कालाई मूलधारमा ल्याएर निर्वाचनमा सहभागी नगराउने हो भने संविधानसभाको आगामी चुनाव परिणाममुखी हुन सक्दैन भन्ने राष्ट्रिय नागरिक पार्टीको ठहर छ’सो पार्टीका अध्यक्ष राजकुमार लेखीले मंगलवार जारी गरेको प्रेस बिज्ञप्तिमा भनिएको छ ‘ विपक्षी दलहरुलाई निर्वाचन प्रक्रियामा सहभागी हुने वातावरण नबनाइ चुनाव गरिएमा मुलुक नयाँ किसिमको द्धन्द्धमा फस्न सक्छ । जुन उद्देश्यका लागि चुनाव गर्न लागिएको हो सो उद्देश्य प्राप्ति नहुने चुनाव पूर्व नै निश्चित भएको स्थितिमा चुनाव गर्नु कुनै हालतमा उपयुक्त हुन सक्दैन । अहिलेको सन्दर्भमा निर्वाचनको मिति केही दिन पछाडि सारेर भए पनि सार्थक चुनावको वातावरण बनाइनुपर्छ भन्ने राष्ट्रिय नागरिक पार्टीको धारणा रहेको छ ।’