राष्ट्रिय महिला भलिबलको तयारी पूरा

काठमाण्डु टुडे २०७० असोज १५ गते ३:०१ मा प्रकाशित

volleyballकाठमाण्डु, १५ असोज – नेपाली घरेलु भलिबल प्रतियोगितामा सर्वाधिक पुरस्कार राशिको ‘सशस्त्र प्रहरी महानिरीक्षक प्रथम राष्ट्रिय खुला भलिबल प्रतियोगिता–२०७०’ को सम्पूर्ण तयारी पूरा भएको छ । सशस्त्र प्रहरी बल (एपिएफ) को आयोजनामा यही असोज १६ देखि २० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा पाँच विकास क्षेत्र, न्यु डायमन्ड क्लव, नेपाली सेना, नेपाल प्रहरी र आयोजक सशस्त्र प्रहरी गरी आठवटा समूहबीच प्रतिष्पर्धा हुने सशस्त्र प्रहरीले जनाएको छ ।

कुल चार लाख २५ हजार रुपैयाँ पुरस्कार राशिको प्रतियोगिताको विजेताले दुई लाख ५० हजार, दोस्रोले एक लाख २५ हजार तथा तेस्राले ५० हजार रुपैयाँ पुरस्कार प्राउने छन् ।

त्यसैगरी प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक थान स्कुटर प्राप्त गर्ने छ भने प्रत्येक खेलको उत्कृष्ट खेलाडीलाई १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ । प्रतियोगिताको उत्कृष्ट डिफेन्डर, ब्लकर र सेटरलाई पनि जनही तीन हजार रुपैयाँ दिइने छ ।

प्रतियोगिताको उदघाटन खेल काठमाण्डुको हल्चोकस्थित सशस्त्र प्रहरी बलको केन्द्रीय कार्यालयस्थित खेल मैदानमा हुने छ । अन्य खेलहरू भने त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us