
काठमाण्डु, १४ कात्तिक– निर्वाचन आयोगले राजाधानीका विभिन्न स्थानमा आचारसँहिता विपरितका काम भइरहेको जनाएको छ । आयोगका कर्मचारी र प्रहरीले बुधबार काठमाण्डु र भक्तपुरका विभिन्न स्थानमा गरेको अनुमगमनका क्रममा आचारसँहिता विपरितका काम भइरहेको जनाएको हो ।
काठमाण्डुको केशर पुस्तकालय, लैनचौर, लाजिम्पाट, चावहिल गोपीकृष्ण, मित्रपार्क, पशुपति क्षेत्र, एयरपोर्ट, कोटेश्वर, नयाँ वानेश्वर, क्षेत्रमा गरिएको अनुगमनमा विभिन्न राजनीतिक पार्टीले आचारसंहिता उल्लङ्घन गरेको अयोगको भनाई छ । टोलीले सार्वजनिक स्थलमा टाँगिएका सयौं थान पोस्टर, झण्डा, चुनाव चिह्न हटाएको र बाँकी रहेकालाई हटाउनका लागि प्रहरीलाई अनुरोध गरिएको आयोगका प्रवक्ता वीरबहादुर राइले जनाकारी दिए ।
यसैगरी, भक्तपुरका दुवै निर्वाचन क्षेत्रमा पनि आचारसंहिता अनुगमन गरिएको छ । केशर पुस्तकालय बाहिर राष्ट्रिय यर्थाथवादी पार्टी (चुुनाव चिन्ह डाँफे) का थुप्रै पोष्टरहरु भित्तामा टाँसेको देखिएको र करिब ५० थान पोष्टरहरु टोलीले च्यातेर फ्याँकको आयोगको भनाई छ ।
लैनचौरमा एउटा हलोको झण्डा पोलमा टाँगेको देखिएकाले सो झण्डा निकालेको, लैनचौरको शान्ति विद्या गृह उमाविमा सूर्य, हसिँया हतौडा र हलोका करिब ६०–७० थान पोष्टरहरु निकालिएका्, लाजिम्पाटमा प्रायः सबै खम्बामा पोस्टर देखिएका, त्यसमा केही स्थानका एमालेका पोष्टरहरु झिकी बाँकी पोष्टरहरु हटाउन स्थानीय प्रहरी टोलीलाई अनुरोध गरिएको आयोगले जनाएको छ । आयोगका अनुसार कम्प्युनिष्ट पार्टीको घन कोदालो चिन्हको पोष्टर महाराजगञ्जको चोकबाट हटाइयो, चावहिल गोपीकृष्ण क्षेत्रका प्रतीक्षालयमा रहेका करिब १५–२० थान पोष्टरहरु (सूर्य चिन्हका) हटाइएको, चावहिलमा सडकका डिभाइडरमा थुप्रै पोष्टरहरु देखिएको र प्रायः हलो चिन्हको थिए ।
एअरपोर्ट आयल निगमकोे भित्तेलेखनलाई हटाउन स्थानीय प्रहरी निकायलाई अनुरोध गरिएको, कोटेश्वरमा रहेका सबै डिभाइडरमा प्रायः एमाले, एनेकपा माओवादीका पोष्टरहरु आयोगले फेला पारेको छ । थोरै समयमा तत्काल हटाउन सक्ने अवस्था नदेखिएकाले कोटेश्वर प्रहरीलाई उक्त स्थानका सबै पोष्टरहरु हटाउन अनुरोध गरिएको प्रवक्ता राईको भनाई छ ।
कोटेश्वरकै सिग्नल आकाशे रेलिङमा एमाओवादी र ए.मा.ले.का थुप्रै झण्डाहरु रहेको, कोटेश्वरबाट नयाँ बानेश्वरतर्फ शान्तिनगरतिरका डिभाइडरमा जन प्रजातान्त्रिक पार्टीको गैंडा चिन्ह रहेका पोष्टरहरु, बानेश्वरमा एमाओवादीको सम्पर्क कार्यालय र कार्यालय अगाडि थुप्रै झण्डा रहेको र पोस्टर टाँस गरेको पनि आयोगले फेला पारेको छ । आयोगतले ती पोष्टरहरु हटाउन स्थानीय प्रहरीलाई अनुरोध गरेको छ ।
यस्तै, भक्तपुर जिल्लामा खटिएको टोलीले निर्वाचन क्षेत्र नं. १ को सुकुलढोकामा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको मापदण्डभन्दा ठूलो आकारको रंगीन पोस्टर झिक्न लगाइएको छ । भक्तपुरकै क्षेत्र नं. २ सल्लाघारी सिर्जनानगरमा नेपाली कांग्रेसको फ्लेक्स व्यानर झिक्न लगाइएको छ । सडकका डिभाइडरमा राखिएका झण्डा हटाउन अनुरोध गरिएको छ । यस्तै निर्वान आयोगले रातोपाटी डटकम, पुल्चोकले आचारसंहिता उल्लङ्घन गरेको भनी आयोगमा उजुरी परेको र त्यसबारे जवाफ माग भएकोमा प्राप्त जवाफ चित्त बुझ्दो भएको नदेखिएकाले आयोगले तीन दिनभित्र पुनः स्पष्टीकरण पठाउन आदेश दिइएको जनाएको छ ।
हेलिकप्टर प्रयोग गर्न प्रचण्डले अनुमति मागेको आयोगको स्पष्टोक्ति
काठमाण्डु– निर्वाचन आयोगले एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हेलिकप्टर प्रयोग गर्नका लागि अनुमति मागेको स्पष्ट पारेको छ । तर अनुमति भने दिइनसकेको आयोगको भनाई छ ।
आयोगले बिहिबार विज्ञप्ती निकालेर अब आइन्दा आयोगको सहमति प्राप्त गरेर मात्र हेलिकप्टर प्रयोग गर्न अध्यक्ष प्रचण्डलाई निर्देशन दिएको जनाएको छ । बुधबार काभ्रेमा सभालाई सम्बोधन गर्न जाने कार्यक्रम भएकोमा नेकपा माओवादीका कार्यकर्ताले बाटोमा अवरोध गरेका कारण प्रचण्ड हेलिकप्टर प्रयोग गरी काभ्रे भएपछि प्रचण्डले आचारसँहिता विपरित काम गरेको भन्दै आयोगका उजुरी परे पछि आयोगले यस्तो निर्णय गरेको हो ।
सुरुमा आयोगले दुर्गमका ११ जिल्लामा मात्र हेलिकप्टर प्रयोग गर्न पाउने व्यवस्था गरेको भएपनि पछि हेलिकप्टर प्रयोगका लचकता अपनाउँदै अन्य ठाउँमा जाँदा पनि प्रयोग गर्न पाउने निर्णय गरेको थियो ।
कमल थापालाई स्पष्टिकरण बुझाउन निर्देशन
यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले निर्वाचन आचारसंहिता विपरितको काम गरेको भन्दै दुई दिन भित्र स्पष्टिकरण बुझाउन आयोगले निर्देशन दिएको छ ।
दुईभन्दा बढी सवारी साधान प्रयोग गर्न नपाउने व्यवस्था भए पनि अध्यक्ष थापाले त्यस विपरितको काम गरेको भन्ने उजुरी इलामबाट प्राप्त भएकाले सो कार्य निर्वाचन आचारसंहिताविपरीत भएको देखिएकाले थापालाई तीन दिनभित्र जवाफ पठाउन आयोगले आदेश दिएको हो ।
एमाओवादीलाई पत्र
यस्तै विहिबार बसेको आयोगको बैठकले एकीकृत माओवादीबाट नुवाकोटमा आचारसँहिता विपरितका काम गरेको भनी उजुर परेको भन्दै कुनै पनि राजनीतिक दल वा उम्मेदवारको निर्वाचन प्रचारप्रसारमा कुनै किसिमको अवरोध नपु¥याउनु एकीकृत माओवादीको केन्द्रीय कार्यालयमा लेखि पठाउने निर्णय गरेको छ ।
उम्मेदवारलाई चेतावनी
राजनीतिक दलहरु र अज्ञात समूहहरुबाट निर्वाचनको वातावरण बिथोल्ने, जनतामा भय एवं त्रास उत्पन्न गर्ने प्रकृतिका गैरकानूनी तथा हिंसाजनित घटनाहरु भएको, प्रचारप्रसारमा प्रयोग गरिएको सवारी साधनमा आगजनी भएको, निर्वाचनको प्रचारप्रसारमा प्रयोग गरिएको प्रचार सामग्री लुट्ने, जलाउने, नष्ट गर्ने, उम्मेदवारहरुलाई कुट्ने, धम्काउनेजस्ता हिंसात्मक तथा आचारसंहिताविपरीतका गतिविधि तत्काल बन्द गर्न र त्यसको जिम्मेवारी सम्बन्धित राजनीतिक दल र उम्मेदवारले लिनुपर्ने आयोगले चेतावनी दिएको छ ।
यस्तै हिंसात्मक र प्रचलित कानुनले निषेध गरेका घटनालाई तत्काल कानूनबमोजिम अनुसन्धान र कारबाही गर्न गृह मन्त्रालयलाई निर्देशन दिने र आचारसंहिता विपरितका काम दोहोरिएमा कारवाही गर्न आयोग पछि नपर्ने चेतावनी आयोगले दिएको छ ।