
काठमाडौं, १४ कात्तिक–अष्ट्रेलिया विरुद्धको छैठौं वनडेमा भारत विजयी भएको छ । नागपुरमा गएराती भएको खेलमा भारतले अष्ट्रेलियालाई ६ विकेटले हराएको हो । जितसँगै भारतले सिरीजमा २–२ को बराबरी गर्न सफल भएको छ ।
टस हारेर पहिले ब्याटिङ थालेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ३ सय ५० रनको शानदार योगफल तयार पारेको थियो । ३ सय ५१ रनको विजय लक्ष्य पछ्याएको भारतले ४९ ओभर ३ बलमा ४ विकेटको क्षतिमा लक्ष्य भेटायो ।
भारतको जीतमा शिखर धवन र विराट कोहलीको योगदान महत्वपूर्ण रह्यो । धवनले १ सय रनको शानदार पारी खेले भने कोहलीले ६६ बलमा १ सय १५ रन बनाए । अविजित रहेका कोहली म्यान अफ द म्याच भए । मिचेल जोनसनले भारतको २ विकेट झारे ।
यसअघि अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ३५० रनको विशाल योगफल बनाएको थियो । अष्ट्रेलियाका लागि कप्तान जर्ज बेलीले १५६ र सेन वाटसनले १ सय २ बनाएका थिए । भारतका रविचन्द्र आश्विन र रविन्द्र जडेजाले २–२ विकेट लिए ।
सात म्याचको सिरीजमा यसअघि अष्ट्रेलिया २–१ ले अघि थियो । भारतले जित हासिल गर्दै २–२ को बराबरी गर्न सफल भयो । चौथो र पाँचौ वनडे भने बर्षाका कारण रद्ध भएको थियो । अब अन्तिम म्याच बैंग्लोरमा २ नोभेम्बरमा खेलिने छ । यही म्याचबाट विजेताको टुंगो लाग्ने छ ।