मतपत्र छापियो,सात उम्मेदवार बिरुद्ध उजुरी परयो

काठमाण्डु टुडे २०७० कार्तिक १३ गते १६:२३ मा प्रकाशित

काठमाण्डु १३ कात्तिक–समानुपातिक तर्फका उम्मेदवार माथि दावी विरोध हाल्ने अन्तिम दिन बुधबारसम्म सात जना उम्मेदवार विरुद्ध उजुरी परेको छ । जसमा एकीकृत नेकपा माओवादीका उम्मेदवार बालकृष्ण ढुङ्गेलविरुद्ध रामकुमारी झाक्री, एमाओवादीकै उम्मेदवारद्वय अनिताकुमारी परियार र धनमाया वि.क. खनालविरुद्ध श्याम कृष्ण विश्वकर्माबाट दाबी विरोध निवेदन पेश भएको छ ।
त्यस्तै समाजवादी जनता पार्टीका रिता थापामगरविरुद्ध लैलाकुमारी गहतराजबाट, एमाओवादीका उम्मेदवार हरिराम श्रीपाइलीविरुद्ध संगीता तामाङबाट र लिग नेपाल शान्ति एकता पार्टीका उम्मेदवार विमला लक्ष्मी शाहविरुद्ध हिराचन्द्र चौलागाईबाट र उषा साह (फकिर) विरुद्ध मोहम्मद जाकीर हुसैनबाट दाबी विरोध निवेदन पेश भएको आयोगले जनाएको छ । निर्वाचन कार्यक्रम अनुसार उम्मेदवारको बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारको योग्यतासम्बन्धमा दावी विरोध गर्न निवेदन दिने बुधबार अन्तिम दिन हो । आयोगले दावी विरोधको निवेदनउपर १४ गतेदेखि २० गतेसम्म उम्मेदवारको योग्यतासम्बन्धी जाँचबुझ गरी निर्णय गर्ने कार्यक्रम छ ।
यसैबीच आयोगले आचारसंहिता विपरीत सडक विभाग काठमाडौंका इन्जिनियर कामेश्वर साहले पदीय आचरण र मर्यादाविपरीत काम गरेकाले तीन दिनभित्र निर्वाचन आयोगमा जवाफ पेश गर्न आदेश दिइएको छ । इन्जिनियर साह मधेसी फोरम नेपाल (लोकतान्त्रिक) को घोषणापत्र सार्वजनिक कार्यक्रममा सहभागी भई तस्बिरसहितको समाचार प्रकाशित भएकाले आयोगले यस्तो आदेश दिएको आयोगका प्रवक्त वीरबहादुर राईले जानकारी दिए ।
महिला आयोगबाट निर्वाचनका विभिन्न प्रक्रियामा लैङ्गिक पक्षको अध्ययन गर्न सहमति प्रदान गर्ने र अनुगमनकर्तालाई परिचयपत्र उपलब्ध गराउने निर्णय पनि आयोगले गरेको छ । अव राष्ट्रिय महिला आयोगले महिला अधिकार क्षेत्रमा काम गर्ने विभिन्न २३ गैरसरकारी संस्था, सञ्चार गृहको संलग्नतामा निर्वाचन पूर्व, निर्वाचन अवधि र निर्वाचनपश्चात्मा अनुगमन गर्नेछ ।
निर्वाचनका लागि मतपत्र छाप्ने काम सकियो
संविधासभाको समानुपातिक तथा पहिलो हुने निर्वाचित हुने निर्वाचनका लागि आवश्यक मतपत्र छाप्ने काम सकिएको छ ।
निर्वाचन आयोगका लागि जनक शिक्षा सामग्री केन्द्रले मतपत्र छपाइको काम गरेको थियो । समानुपातिक निर्वाचनका लागि एक करोड ४९ लाख ५२ हजार र सोही सङ्ख्यामा पहिलो हुने निर्वाचित हुने निर्वाचनका लागि मतपत्र छपाइ गरेको आयोगले जानकारी दिएको छ ।
आयोगका प्रवक्ता बीरबहादुर राईले पहिलो हुने निर्वाचित हुने निर्वाचनका लागि हल्का नीलो र समानुपातिक निर्वाचनका लागि हल्का रातो रङ्गका मतपत्र छपाइ गरिएको जानकारी दिए । पहिलो हुने निर्वाचित हुने निर्वाचनका लागि २४० प्रकारका र समानुपातिक निर्वाचनका लागि एकै प्रकारका मतपत्रको व्यवस्था गरिएको छ ।
आयोगले विविध कारणले २२ प्रतिशत बढी मतपत्र यसपटकको निर्वाचनका लागि छपाइ गरेको छ । पहिलो हुने निर्वाचित हुने निर्वाचनका लागि राजनीतिक दल तथा स्वतन्त्र गरी ६ हजार एक सय २८ उम्मेदवार तथा समानुपातिक निर्वाचनका लागि ११ हजार तीनजना उम्मेदवार चुनावी मैदानमा छन् ।
मतदानका क्रममा मतदातालाई सर्वप्रथम पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत मतदान गर्न हल्का नीलो रङ्को मतपत्र दिईने र सो मतपत्रमा छाप लगाइसकेपछि मात्र समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत राजनीतिक दललाई मतदान गर्न हल्का रातो रङ्गको मतपत्र उपलब्ध गराइने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।
समानुपातिक निर्वाचनमा एक सय २२ दलले भाग लिएका कारण यसपटकको निर्वाचनमा सो निर्वाचन प्रणालीको मतपत्र ठूलो आकारको रहेको छ ।
आयोगले मतपत्रको छपाइ कार्य सकिएपछि मतपत्रलगायत अन्य संवेदनशील सामग्री प्याकिङ गरी सम्बन्धित जिल्लामा पठाउन सुरु गरिएको जानकारी दिएको छ ।
आयोगले विभिन्न ११ वटा हिमाली  जिल्लामा नेपाली सेनाको हेलिकोप्टर र बाँकी जिल्लामा सडक यातायातका माध्यमबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीले मतपत्र पुयाउने छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us