
काठमाण्डु– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई काठमाण्डु–१० का मतदाताले कलम–कापी र कुचो उपहार दिएका छन् ।
चुनावी घरदैलो अभियानका क्रममा बुधबार काठमाण्डुको महादेवस्थान गाविस पुगेका उनलाई मतदाताले थानकोट चेकपोष्टमा आयोजित स्वागत कार्यक्रममा कलम–कापी र कुचो उपहार दिएका हुन् ।
संविधान लेख्न कापी–कलम र संघीयताविरोधीलाई कुचाले बढार्न भन्दै सांकेतिक रुपमा उनलाई उपचार दिइएको मतदाताले बताएका छन् । कार्यक्रममा मतदाताले यसपटकको संविधानसभामा आफूहरुले दिएको जनमतको कदर गर्दै जसरी पनि संविधान जारी गर्न प्रचण्डको ध्यानाकर्षण गराएका थिए ।
जवाफमा प्रचण्डले आफूलाई सांकेतिक उपहार दिइएकामा आभार प्रकट गर्दै संविधानसभामार्फत जनताले दिने म्याण्डेट यसपटक खेर जान नदिने प्रतिबद्धता दोहोर्याए । उनले यो पटक संविधानसभाबाट जसरी पनि संविधान जारी हुनेमा आशंका नगर्नसमेत मतदातालाई आग्रह गरे ।
कार्यक्रममा उनलाई मतदाताले भित्री बाटो पिच गरिदिन, अस्पताल र खानेपानीको व्यवस्था मिलाइदिन तथा ढल व्यवस्थित गरिदिन पनि आग्रह गरे ।