मतदाता परिचयपत्र छपाई र वितरण सँगसँगै

काठमाण्डु टुडे २०७० कार्तिक १३ गते ३:५४ मा प्रकाशित

काठमाण्डु–आसन्न संविधानसभा निर्वाचनको लागि मतदाता परिचय–पत्र धमाधम छाप्ने र सम्बन्धित ठाउँहरुमा वितरण गर्ने काम सँगसँगै भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

तर निर्वाचन आउन २० दिन मात्र बाँकी रहेकोले ग्रामिण क्षेत्रका मतदाताहरुका हातमा परिचय–पत्र पुगिसक्नेमा भने कतिपयले शंका व्यक्त गरेका छन् ।

राष्ट्रिय परिचय–पत्रको रुपमा वितरण गर्ने भन्दै तामझामका साथ शुरु गरिएको फोटो सहितको मतदाता परिचय–पत्र अनेक प्राविधिक कारणले भनेजस्तो विकसित रुपमा आउन सकेन । आयोगले चुनाव अघि नै परिचय–पत्र घर घरमा पुर्याउने लक्ष्य लिएको थियो । तर थोरै समय मात्रै बाँकी रहेकाले यो कठिन हुने देखिएको छ ।

आयुक्त अयोधीप्रसाद यादवले भने, ‘परिचय–पत्र छाप्ने काम यो महिनाको अन्तिम सम्म हुन्छ । मतदान स्थल सम्म र मतदानको दिन पनि वितरण हुन्छ ।’

आयोगले परिचय–पत्र छापाई र वितरणको काम सँगसँगै गरिरहेको उनले जानकारी दिए । उनले भने, ‘छपाई र वितरणको काम जारी छ । सुदुर पश्चिमको दुर्गम ठाउँबाट वितरण सुरु गरिएको छ । कुन जिल्लामा, कहाँ, कति भन्ने कुरा गोप्य नै राख्नु पर्छ अहिले सुरक्षाको कारणले ।’

मतदाता सूचीमा नाम भएका मतदाताहरुलाई परिचय–पत्र दिन नभ्याईए अर्को वैकल्पिक व्यवस्थाको लागि आदेश जारी गर्ने आयुक्त यादवको भनाई छ ।
‘पाउन नसक्ने अवस्था भयो भने विशेष किसिमको परिचय–पत्रको व्यवस्थाको लागि हामी आदेश जारी गर्छौं । नागरिकता, सवारी चालक अनुमति पत्र, राहदानी वा सरकारी कर्मचारीले प्रमाणित गरेको अन्य कागजात लगायत देखाएर मतदान गर्न सकिने व्यवस्था गर्छौं,’ उनले भने ।

मतपत्रको हकमा भने समानुपातिक तर्फको मतपत्र जिल्लाहरुमा पठाउन शुरु गरिसकेको र प्रत्यक्ष तर्फको मतपत्र छपाई जारी रहेको आयोगले जनाएको छ । – बीबीसी नेपाली सेवाबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us