बम आक्रमणपछि भारतीय गृहमन्त्री सङ्गीत कार्यक्रममा संलग्न

काठमाण्डु टुडे २०७० कार्तिक १२ गते १५:४७ मा प्रकाशित

नयाँ दिल्ली, १२ कात्तिक–भारतमा राजनीतिक सभामा आइतबार बम विस्फोट भएपछि सुरक्षा समूहले त्यस विषयमा अनुसन्धान गरिरहेको समयमा गृहमन्त्री सुशीलकुमार सिन्धे सिनेउद्योग बलिउडको एक कार्यक्रममा संलग्न भएको कुरालाई प्रतिपक्षी दलले आलोचना गरेको छ । उक्त आक्रमणमा ६ व्यक्तिको मृत्युभएको थियो । shinde
गृहमन्त्री सिन्धे सो समयमा एक नयाँ सिनेमाको सङ्गीत सार्वजनिक गर्ने कार्यक्रममा एक अभिनेत्रीसँग मुस्कुराउँदै फोटो खिचाउँदै गरेको देखिएका थिए ।
हिन्दू कट्टरपन्थी तथा भारतीय जनता पार्टीका लागि प्रधानमन्त्री पदका उम्मेदवार नरेन्द्र मोदीले बम विस्फोटपछि पनि सभालाई सम्बोधन गरेका थिए । उक्त आक्रमणमा दर्जनौँ घाइते भएका थिए ।    बीजेपीका पवक्ता निर्मला सीतारमणले गृहमन्त्री शृङ्खलावद्ध विस्फोटपछि परिस्थितिको अनुगमन गर्नुको सट्टा एक सङ्गीत कार्यक्रममा संलग्न हुनु स्तब्धकारी भएको बताए ।
बीजेपीका नेता कीर्ति आजादले सिन्धे हाँसोको पात्र भएको बताए । उनले निरपराध भारतीय जनता मरिरहेको समयमा गृहमन्त्री सङ्गीत क्यासेट विमोचन गरिरहेको फेला पारिएको बताए ।
कङ्ग्रेस पार्टीका वरिष्ठ नेता सल्मान खुर्शिदले सिन्धेको पनि निजी जीवन भएको दाबी गरे उनले मोदीले विस्फोट भएपछि पनि सभालाई सम्बोधन गरेकोमा आलोचना गरे ।
गृहमन्त्री सिन्धे बलात्कारबाट पीडित एक बालिकाको नाम संसदमा उल्लेख गरेको तथा दिल्लीमा सामूहिक बलात्कारको विरोधमा उत्रिएका विद्यार्थीलाई माओवादी विद्रोहीसँग तुलना गरेको विषयमा पनि असजिलोमा परेका थिए । रासस/एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us