द्वीपको विवादमा चीनले शान्ति खल्बल्याउन खोजेको जापानको आरोप

काठमाण्डु टुडे २०७० कार्तिक १२ गते १५:३९ मा प्रकाशित

टोकियो, १२ कात्तिक–चीनले आफ्ना मानवविहीन विमानमाथि प्रहार गर्ने प्रयास ‘‘युद्धकार्य’’ हुने चेतावनी दिएपछि जापानी प्रतिरक्षामन्त्री इत्सुनोरी ओनोदेराले मङ्गलबार द्वीपको विवादमा बेइजिङले शान्ति खलबल्याउन खोजेको आरोप लगाएका छन ।
पूर्वी चिनियाँ जलक्षेत्रमा विवाद आरम्भ भएपछि चीनको पारमाणविक क्षमतायुक्त पनडुब्बीको समूह उक्त क्षेत्रमा देखा परेको छ भने जापानले युद्धअभ्यास गर्ने तयारी गरिरहेको छ । प्रतिरक्षामन्त्री ओनोदेराको टिप्पणीले दुई मुलुकबीच द्वन्द्व अझै गहिरहने आशंका गरिएको छ ।
प्रतिरक्षामन्त्री ओनोदेराले टोकियोमा पत्रकारहरूलाई सेनकाकु द्वीपको वरपर चीनको प्रवेशले आपत्कालीन अवस्था देखाउने आफूले विश्वास गरेको बताए ।
जापान सरकारले सन् २०१२ मा जापानी नागरिकबाट उक्त तीन द्वीप खरिद गरेको थियो भने उक्त द्वीपलाई चीनले दियाओयुस भन्ने गर्छ र त्यसमा आफ्नो दाबी कायम राखेको छ ।
सोमबार चीनको तटीय सुरक्षा समूहले चार जहाज उक्त द्वीपको वरपर पठाएको थियो भने जापानी जहाजहरू पनि त्यहाँ पुग्ने गर्छन् । चीनले आफ्ना विमानहरू प्रशान्त क्षेत्रमा पठाएको थियो भने जापानी विमानहरू पनि उक्त क्षेत्रमा पुगेका थिए ।
ओनोदेराले उक्त क्षेत्रमा दुई पूर्व चेतावनी दिने विमान तथा दुई बमवर्षक विमान देखिएको बताए । उनले यस्तो कुरा सामान्यतया हुने नगरेको बताए । उनले चीनले खुला सागरका साथमा आफ्नो क्रियाकलापको क्षेत्र विस्तार गरिरहेको बताए ।
गत साता जापानमा लोकप्रिय प्रधानमन्त्री सिन्जो आवेले जापानी हवाइ क्षेत्र छोड्न चेतावनी दिँदा कुनै पनि मानवविहीन विमानले नछोडेमा त्यसमाथि आक्रमण गर्न स्वीकृति दिएका थिए ।
त्यसभन्दा अगाडि आधिकारिक रूपमा पहिचान नभएको एक विमान जापानको दक्षिणी भागमा पुगेको समाचार आएका थिए । नीति निर्माताहरूले उक्त विमान चिनियाँ भएकोमा शङ्का नभएको बताएका थिए । शनिबार चीनको प्रतिरक्षा मन्त्रालयले जापानले आफ्ना विमानमा आक्रमण गरे त्यो ‘‘भड्काउने गम्भीर प्रयास हुने र त्यो युद्ध कार्य जस्तो हुने’’ बताउँदै त्यसको कडा प्रतिक्रिया दिइने चेतावनी दिएको थियो ।
मङ्गलबार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनयिङले पत्रकारहरूलाई जापानले वाह्य चेतावनीको सिद्धान्तलाई उकास्ने तथा आफ्नो सैनिक क्षमता बढाउने भित्री चाहना अन्तर्राष्ट्रिय समुदाय समक्ष देखाउने कार्य बन्द गर्नुपर्ने बताए ।
टोकियोको ओबिरिन विश्वविद्यालयका प्रतिरक्षा तथा सुरक्षाका प्राध्यापक अकिरा कातोले दुई पक्ष पृथक बसेर काम गरिरहेको र कूटनीतिक स्तरमा वार्ता नभएसम्म अवस्था अझै खराब हुने बताए ।
जापान तथा अमेरिकाबीच सुरक्षा गठबन्धन कायम छ र त्यस अनुसार जापानमाथि आक्रमण भएमा अमेरिका सहयोगका लागि आउनुपर्नेछ । प्राध्यापक कातो सोही सम्झौतातर्फ पनि सङ्केत गरे ।
जापानले मङ्गलबार गरेको टिप्पणी बेइजिङ्को पारमाणविक पनडुब्बी उक्त स्थानमा देखिएपछि आएको हो । टोकियोले गत साता विवादास्पद द्वीपभन्दा सयौँ किलोमिटर पर आफ्ना द्वीपलाई कसैले नियन्त्रण गरे त्यसलाई छुटाउने उद्धेश्यको सैनिक अभ्यास गर्ने घोषणा गरेको थियो । यस अभ्यासमा ३४ हजार सैनिक संलग्न हुने बताइएको छ । रासस/एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us