
नेपालगन्ज, १२ कात्तिक– रझेना गाविस–१ मैटहवाका कृषक दीपेन्द्र चौधरीले गाईपालन फार्म सञ्चालन गरी मासिक लाखौं मुनाफा गरेका छन् । फार्ममा रहेका ६ वटा जर्सी गाईले प्रत्येक दिन सरदर ५५ लिटर दूध दिने गरेको र सो दूध स्थानीय बनकटवा डेरीमा प्रतिलिटर रु २५ देखि ३१ सम्म बिक्री हुने गरेको जनाइएको छ ।
सबै खर्च कटाएर मासिक रु २० हजारसम्म मुनाफा हासिल गरिरहनुभएका कृषक चौधरीले गाईपालन व्यवसायका लागि चर्चेको एक बिघा क्षेत्रफलमा गाईका लागि घाँसखेतीका साथै खानेतेलका लागि सूर्यमुखीको फूलको खेती पनि गरेका छन् । करिब २० वर्षसम्म समाजसेवामा होमिनु भएका व्यवसायी चौधरी अहिले पनि बाँके युनेस्को क्लबका महासचिव पदमा छन् ।
सो गाईपालन फार्ममा जिल्ला पशुसेवा कार्यालयका प्राविधिकले आवश्यकताअनुसार गाईको जाँच गर्नुका साथै चिकित्सकीय सेवा उपलब्ध गराउँदै आएका छन् । चौधरीको फार्ममा अहिले तीन जनाले रोजगारीसमेत पाएका छन् ।
कपाल काटेर १५ हजार
सप्तरी– यता सप्तरीको मलेकपुर गाविस–६ निवासी रामनारायण ठाकुरलेअरुको कपाल काटेर र दाह्री खौरेर जिविकोपार्जन गर्ने गरेका छन् । आफ्नै सैलुन खोलेर ग्राहकको कपाल र दाह्री खौरिने मुख्य पेसा अँगालेका ठाकुरले घरमै बसेर राम्रो आम्दानी गरी सातजनाको परिवारको पालेका छन् ।
कपाल काट्ने र दाह्री खौरिने पेसाबाटै ठाकुरले गाउँमा पाँच कट्ठा जग्गा र राजविराज नगरपालिका–६ मा १० धुर जग्गा खरिद गरेका छन् । दैनिक रु. ५०० देखि ७०० सम्म आम्दानी हुने रकमबाट बचत गरेर राजविराज नगरपालिका–६ स्थित जग्गामा पक्की भवन पनि बनाइसकेको छ ।
मासिक औसत १५ हजार आम्दानी गर्ने उनले आम्दानी गर्न विदेश जाने युवाको सङ्ख्या दिनहुँ सप्तरीमा बढ्दै गएको अवस्थामा सानै उमेरदेखि कपाल काट्ने पेसा सुरु गरेका ५० वर्षीय ठाकुरले अहिले यही पेसाबाट परिवारको गुजारा चलाउनुका साथै तीनजना छोरालाई राम्रो शिक्षा दिलाउन सफल भएकोे छ ।