एकै परिवारका सातको हत्या

काठमाण्डु टुडे २०७० कार्तिक १२ गते १२:५२ मा प्रकाशित

पाकिस्तान, १२ कात्तिक– दक्षिण–पश्चिम पाकिस्तानमा मङ्गलबार बिहान सबेरै सरकार समर्थित आदिवासी एक अग्रज र उनका परिवारका छ सदस्यको बन्दुकधारीहरूले हत्या गरेका छन् ।

बलुचिस्तान प्रान्तको प्रान्तीय राजधानी क्वेटादेखि ४५० किलोमिटर दक्षिण–पूर्वमा डेरा बुग्ती जिल्लामा सो आक्रमण भएको जनाइएको छ । यस आक्रमणमा मारिनेमा डोडा खान, उनकी श्रीमती, छोरी, बुहारी र तीन जना नाती नातीनी रहेका डेरा बुग्तीका वरिष्ठ सरकारी अधिकारी अब्दूल जाब्बारले एएफपी समाचार समितिलाई बताएका छन् ।

जाब्बारका अनुसार एक दर्जनभन्दा बढी सशस्त्र बन्दुकधारीले आक्रमण गरेका थिए । सोही परिवारको अर्का एक व्यक्ति घाइते भएको र उनको अवस्था पनि गम्भीर रहेको जाब्बारले बताएका छन् । आक्रमणकारीहरू सो इलाकाबाट सुरक्षित भागेका बताइएको छ । यस आक्रमणको हालसम्म कुनै पनि आतङककारी समूहले जिम्मा लिएको छैन ।

तर पाकिस्तानी सरकार समर्थित आदिवासी अग्रजमाथि बलुच पृथकताबादी समूहले बारम्बार आक्रमण गर्दै आएका हुनाले यस आक्रमणमा पनि सोही समूहको हात रहेको हुनु पर्ने प्रहरीको अनुमान रहेको छ । रासस÷एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us