
काठमाण्डु, १२ कात्तिक– नेपाल पर्वतारोहण सङ्घले कात्तिक १५ गतेदेखि बालाजुको हिमालय क्लाइम्बिङ सेन्टरमा वाल क्लाइम्बिङ प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगितामा पुरुष र महिला गरी करिब ६० जना सहभागी हुने सङ्घले जनाएको छ।
दक्षिण कोरियाली ख्यातिप्राप्त आरोही पार्क याङसेङको सम्झनामा उनकै नाममा स्थापना गरिएको फाउन्डेसनको सहयोगमा आयोजना गरिने दुईदिने सो प्रतियोगितामा विजयी हुुने पहिलो, दोस्रो, तेस्रो र चौथो प्रतियोगीलाई क्रमशः रु ५० हजार, रु २५ हजार, रु १५ हजार र रु पाँच हजार पुरस्कार दिइने र प्रतियोगीहरुले प्रवेश शुल्क रु एक हजार बुझाउनुपर्ने बताइएको छ ।
सङ्घका अध्यक्ष जिम्बा जाम्बु शेर्पाले नेपाललाई साहसिक खेल पर्यटनको उत्कृष्ट गन्तव्यस्थल बनाउनका लागि प्रतियोगिता गरिएको र यसमा कलेजका युवावर्ग बढी मात्रामा आकर्षित हुने बताएका छन । उनले ककनीमा विदेशी सहयोगमा अन्तर्राष्ट्रियस्तरको वाल क्लाइम्बिङ सेन्टर बनाउने प्रक्रिया सुरु भएको बताउँदै नेपालमा सन् २००२ बाट वाल क्लाइम्बिङ प्रतियोगिता प्रारम्भ भए पनि भौतिक पूर्वाधारको अभावले दक्ष जनशक्ति उत्पादन हुन नसकेको उल्लेख गरे ।
सङ्घका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाले नेपालमा साहसिक पर्वतीय गतिविधिको ठूलो सम्भावना रहेकाले त्यसलाई पूर्ण रुपमा सदुपयोग गर्नुपर्नेमा जोड दिए । विश्वका आठ हजार मिटर अग्लो १४ वटै हिमाल र सातवटै समिटको दुवै तर्फबाट सफल आरोहण गरी गिनिज बुकमा अभिलेख राखेका पार्कको सन् २०११ मा अन्नपूर्णको नयाँ पदमार्गबाट आरोहण गर्ने क्रममा दुर्घटनामा परी निधन भएको थियो । रासस