विश्वकपमा सहभागिको संख्या ४० पुर्‍याउन प्रस्ताव

काठमाण्डु टुडे २०७० कार्तिक १२ गते १:५७ मा प्रकाशित

World-Cup-2014काठमाण्डु, १२ कात्तिक–युरोपेली फुटबलको सर्वोच्च संस्था युएफाका प्रमुख मिसैल प्लातिनीले विश्वकप फुटबलको दायरा अझ बढाउन प्रस्ताव गरेका छन् । उनले विश्वकप फुटबलको अन्तिम चरणमा सहभागि हुने देशहरुको संख्या हालको ३२ बाट बढाएर ४० पुर्‍याउन सुझाव दिएका छन् ।

विश्व फुटबलको सर्बोच्च संस्था फिफाका प्रमुख सेप ब्लाटरले विश्वकपमा एशिया र अफ्रिकाबाट अरु बढि टोलीलाई सहभागि गराउनु पर्ने प्रस्ताव राखेपछि प्लातिनीको यस्तो प्रयास आएको हो । फिफा अध्यक्ष ब्लाटरले युरोपेली मुलुकहरुको प्रतिनिधित्वलाई घटाएर एशिया र अफ्रिकी मुलुकको प्रतिनिधित्व बढाउन प्रस्ताव गरेका थिए । प्लातिनीले युरोपको सभागिता घटाउन भन्दा सहभागि हुने मुलुकहरुको संख्या बढाएर विश्वकप फुटबलको दायरा झन् फराकिलो पार्न सुझाव दिएका हुन् । प्लातिनीले एशियाली मुलकहरुबाट थप दुई, अफ्रिकाबाट थप दुई, अमेरिकाबाट दुई अनि युरोपबाट एक गर्दै विश्वकपमा सहभागिता जनाउने कुल मुलुकहरुको संख्या ४० पुर्‍याउन सुझाव दिएका हुन् ।

विश्वकपमा अहिले एशियाबाट ४ सिधा र एक प्लेअफ गरि ४ देखि ५ प्रतिनिधि पठाउने ब्यवस्था छ । प्ले अफमा, एशियाली छनौटमा पाँचौं हुने टोलीले दक्षिण अफ्रिकी मुलुक सित प्रतिस्पर्धा गर्नु पर्ने हुन्छ । अफ्रिकाबाट भने सिधा ५ मुलुक सहभागि हुन पाउँछन् । युरोपबाट हाल १३ देशले सहभागिता जनाउँछन् । त्यस्तै दक्षिण अमेरिकाबाट ४ टोलीले सिधा प्रतिनिधित्व गर्छन् भने एक एशियासँगको प्लेअफबाट आउन सक्छ । उत्तर अमेरिकाबाट भने तीन सिधा र एक ओसियानसितको प्ले अफबाट छानिन सक्छ । यस अघि ओसियानाबाट प्रतिस्पर्धा गर्ने गरेको अष्ट्रेलिया अहिले एशियाबाट छनौट प्रतियोगिता खेल्ने गर्छ ।

विश्वकप फुटबलको पहिलो संस्करणमा कुल १३ देश सहभागि थिए । अर्को वर्ष सहभागिहरुको संख्या १६ पुगेको थियो । सन् १९८२ मा २४ मुलुकहरु विश्वकप खेल्न पाउने प्रावधान बनाईयो । सन् १९९८ यता ३२ मुलुक विश्वकपमा सहभागि हुुँदै आएका छन् ।

सन् २०१८ मा हुने रुसको विश्वकपबाट ४० टोली पुर्याउने प्रस्ताव मिसैल प्लातिनीले गरेका छन् । प्लातिनीले ४० देश पुर्‍याउँदा मात्र ३ दिनको खेल बढ्ने हुँदा यसले कुनै असर नपार्ने जनाएका छन् । सन् २०१५ मा फिफाका प्रमुख परिवर्तन हुँदा प्लातिनी नयाँ प्रमुखका प्रमुख दावेदार हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us