
काठमाण्डु, ११ कात्तिक–इजरायल सरकारको पूर्ण छात्रवृत्तिमा २०४ जना साना किसान परिवारका सदस्य कृषि प्रविधि एवम् सीप सिक्न सोमबार इजरायल प्रस्थान गरेका छन् ।
साना किसान विकास बैंकसँग आबद्ध साना किसान सहकारी संस्थासँगको सहकार्यमा इजरायलले नेपाली किसानको उत्पादकत्व बढाउन तथा आधुनिक कृषि प्रणालीमा उन्मुख गराउन उनीहरूका परिवारका सदस्यलाई छात्रवृत्ति उपलब्ध गराएको हो ।
इजरायलका प्रतिष्ठित आर्भा अन्तर्राष्ट्रिय कृषि तालिम केन्द्र, रामाट नेगेभ क्षेत्रीय कृषि तालिम केन्द्र र केनेट कलेजमा एकवर्ष व्यावहारिक तालिममा सहभागी उनीहरूले मासिक पारिश्रमिकसमेत पाउने यहाँस्थित इजरायली राजदूतवासले जनाएको छ ।
खेतवारीमा गएर प्रयोगात्मक अभ्यासमा सहभागी हुने नेपाली विद्यार्थीले मासिक एकलाख रुपैया भन्दा बढी तलब प्राप्त गर्नेछन् । नेपालका लागि इजरायलका राजदूत हनान गोडेर, बैंक र सहकारीका अधिकारीहरूले उनीहरूलाई विमानस्थलमा बिदाइ गरेका थिए ।
तालिम पूरा गरेर आएका विद्यार्थीले नेपालको कृषि क्षेत्रको विकासमा उल्लेख्य योगदान गर्ने विश्वास इजरायलले लिएको उक्त मुलुकको दूतावासले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।