निर्वाचनमा सजग बन्न आयोगको आह्वान

काठमाण्डु टुडे २०७० कार्तिक ११ गते १६:१५ मा प्रकाशित

काठमाण्डु–निर्वाचन आयोगले संविधानसभा निर्वाचनमा भाग लिएका राजनीतिक दल, तिनका उम्मेदवार र आम मतदातालाई निर्वाचन सम्पन्न गर्ने काममा सजग रहन आह्वान गरेको छ ।

ती तिनै पक्षले मङ्सिर ४ गते निर्वाचन सम्पन्न गर्न आइपर्ने चुनौती सामना गर्न सजग रहेमा कुनै पक्षले निर्वाचनमा अवरोध पु¥याउन नसक्ने भएकाले आयोगले सजग रहन सोमबार आफ्नै हातामा तयार भएको सञ्चार तथा पर्यवेक्षण स्रोत केन्द्रमा पहिलो पत्रकार सम्मेलन  आयोजना गरी आह्वान गरेको हो ।
राजनीतिक दल, तिनका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवार तथा आम मतदाताले निर्वाचनसम्बन्धी कुनै कार्यक्रम र घरदैलो गर्दा नजिकको सुरक्षा निकायलाई जानकारी दिन आग्रह गर्दै प्रमुख आयुक्त नीलकण्ठ उप्रेतीले यसो भएमा उत्तम हुने बताए । उनले भने, “मङ्सिर ४ गतेको निर्वाचन स्वतन्त्र, निष्पक्ष र धाँधलिरहित रुपमा सम्पन्न गर्न चार लाख २५ हजार कर्मचारी रहेको जहाज उडिसक्यो, सुरक्षित रुपमा ‘टेक अफ’ हुन्छ, कसरी ‘ल्यान्ड’ गर्ने हो, यो आयोगलाई जानकारीमा छ, यसका कुनै शङ्का नगरे हुन्छ  ।”
प्रमुख निर्वाचन आयुक्त उप्रेतीले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न हुन्छ, निर्वाचनका क्रममा एकाध घटना होलान् तर निर्वाचन स्थगित गरिने काम हुन्न भने ।
निर्वाचनका लागि आवश्यक सबै तयारी पूरा भएको जानकारी दिँदै प्रमुख निर्वाचन आयुक्त उप्रेतीले भने“निर्वाचनका तत्वहरु मतदाता नामावली, मसी, मतपत्र छपाइ, सुरक्षा प्रबन्ध, कर्मचारी खटनपटनलगायतका काम सम्पन्न भइससकेका छन् ।”
कात्तिक १४ गतेभित्रमा प्रत्यक्ष तथा समानुपातिक निर्वाचनको मतपत्र छापिने काम सम्पन्न हुने र यसपटक २२ प्रतिशत बढी मतपत्र छापिएको जानकारी उनले दिए ।
आयुक्तद्वय इला शर्मा र डा. रामभक्त पिबी ठाकुरसहित पत्रकार सम्मेलनमा उपस्थित हुनुभएका प्रमुख आयुक्त उप्रेतीले हँसिलो अनुहारमा सञ्चारकर्मीहरुसमक्ष भने,“मङ्सिर ४ गते निर्वाचन सम्पन्न गर्न आयोगले कुनै कसर बाँकी राख्दैन, आइपर्ने जनुसुकै चुनौती सामना गर्न आयोग तयार छ ।”
निर्वाचन आचारसंहितालाई अक्षरशः पालना गराउन आयोग प्रतिबद्ध रहेको र आयोग यस विषयमा कसैसँग नझुक्ने उनले बताए । प्रमुख निर्वाचन आयुक्त उप्रेतीले भने,“निर्वाचन आचारसंहितालाई कुनै पक्षबाट भाँच्न, दोभार्न र सच्याउन पाउँदैन ।”
उनले आफूलगायत अन्य आयुक्तहरु आयोगमा पदभार ग्रहण गरिसकेपछिको तीन पेज लामो लिखित दस्तावेज पढेर सुनाएका छन । यसमा नीतिनिर्माण, दल दर्ता, २५ बुँदे निर्वाचन कार्यक्रम, मतदानस्थल तथा केन्द्र, पर्यवेक्षण, आचारसंहिता, मतदाता नामावली, मतपत्र छपाइ, आर्थिक व्यवस्थापन, मतदाता शिक्षा, कर्मचारी व्यवस्थापन, वैदेशिक सहयोग जस्ता बुँदाहरु समेटिएका छन् ।
निर्वाचनलाई अपाङ्ग मैत्री बनाउन १५ जिल्लाका ४९ मतदान केन्द्रमा ¥याप बनाइएको, संयुक्त निर्वाचन केन्द्र सञ्चालनमा आएको र मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको जानकारी पनि उनले दिए । उनका अनुसार निर्वाचन प्रक्रिया हेर्ने, अवलोकन गर्ने, पर्यवेक्षण गर्ने गरी तीन तहमा निर्वाचनलाई मूल्याङ्कन गरिने व्यवस्था गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us