दुबईका गभर्नरका पत्र लिएर युएईका श्रममन्त्री काठमाण्डुमा

काठमाण्डु टुडे २०७० कार्तिक ११ गते १४:१५ मा प्रकाशित

UAE Minister of Labour Saqer Ghobash speaks in Abu Dhabi,काठमाण्डु– संयुक्त अरब इमिरेट्स (युएई)का श्रममन्त्री सकर घोबास सइद घोबास नेपालको तीनदिने औपचारिक भ्रमणमा सोमबार अपराह्न काठमाण्डु आइपुगेका छन् । तीन सदस्यीय उच्च अधिकारीका साथ यहाँ आउनुभएका उनलाई विमानस्थलमा नायब शिष्टाचार महापाल हेमलाल भट्टराईले स्वागत गरे ।

सन् २०२० मा उक्त मुलुकको महानगर दुवइमा ‘वल्र्ड एक्सो’ आयोजना गर्न युएइले गरेको प्रस्तावप्रति नेपाल सरकारले समर्थन जनाएकामा त्यसप्रति आभार व्यक्त गर्दै दुबइका गभर्नरले पठाएको पत्र लिएर उनी भ्रमण आएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, गृह एवम् परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरे र श्रममन्त्री छविराज पन्तसँग मन्त्री घोबासले बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम छ ।

युएईका अतिथिको सम्मानमा मन्त्री घिमिरेले भोलि दिवाभोजको आयोजना गर्नेछन् । अबुधाबीस्थित नेपाली दूतावासका अनुसार हाल युएईमा एकलाख ५० हजार नेपाली कार्यरत छन् । नेपालीहरू निर्माण, सुरक्षा, सेवा प्रदायक क्षेत्र र कलकारखानामा काम गरिरहेका छन् । औसतमा उनीहरूको मासिक तलब रु १८ देखि ३० हजार छ ।

नेपाल र युएईबीच २०३४ साल पुसमा कुटनीतिक सम्बन्ध स्थापना भएको हो । नेपाली युवाका निम्ति वैदेशिक रोजगारीको प्रमुख गन्तव्यमध्येको एक युएईसँग व्यापार, आर्थिक सहयोग, लगानी आकर्षण, पर्यटन प्रवद्र्धनका क्षेत्रमा सहकार्य गर्न पछिल्ला वर्षहरूमा दुबै मुलुकले चासो देखाएका छन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us