आचारसँहिता उल्लंघन गर्नेलाई नियन्त्रण गर्ने आयोगको बाचा

काठमाण्डु टुडे २०७० कार्तिक ११ गते १३:२५ मा प्रकाशित

election commition of nepalकाठमाण्डु, ११ कात्तिक– मुलुकभर आचारसँहिताको उल्लंघनका घटना बढिरहेका बेला निर्वाचन आयोगले भने आचारसँहिता उल्लंघन गर्नेलाई पूर्ण रुपमा नियन्त्रण गर्ने प्रतिवद्धता जनाएको छ ।

सोमबारदेखि सुरु भएको नियमित पत्रकार भेटघाट कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले त्यसका लागि निक्कै बलियो संयन्त्र बनाएर आचारसँहिता उल्लंघन गर्नेलाई पूर्ण नियन्त्रण गरिने बताए । ‘निर्वाचन विथोल्ने र त्यसमा अर्कै भूमिका खेल्ने काम हुने छैन’ प्रमुख निर्वाचन आयुक्त उप्रेतीले भने ‘ त्यसका लागि तपई सञ्चारकर्मीको पनि महत्वपूर्ण भूमिका छ ।’

यस्तै विभिन्न ठाउँमा चुनाव विरोधी गतिविधि भइरहेका बेला निर्वाचन आयोगले भने राजनीतिक दल र उम्मेदवारलाई पनि सचेत रहन आग्रह गरेको छ । जहाँ गल्ती भएको छ त्यसबाट पाठ सिक्दै सबै सचेत हुनु पर्ने आयोगको भनाई छ । ‘आफूले पनि सुरक्षाको चेनतना राख्नु पर्छ’ प्रमुख निर्वाचन आयुक्त उप्रेतीले भने कही गाडी लिएर गएर ढुक्कसँग बस्न भएन । केही खतराको महसुस भए सुरक्षाकर्मीलाई जानकारी पनि दिन परयो । त्यसो भए निर्वाचन शान्तिपूर्ण रुपमा हुन्छ ।’

आयोगले अहिलेसम्म विजयकुमार गच्छदार र रेणु दाहाल गरी दुई जना उम्मेदवार सहित आचारसँहिता उलंघनका ४७ वटा उजुरी परेको जनाएको छ । त्यसमध्ये गच्छदारले गल्ती स्वीकार गर्दै माफि मागेको र दाहालबाट स्पष्टिकरणको जवाफ नआएको प्रमुख निर्वाचन आयुक्त उप्रेतीले जानकारी दिए । तोकिएकै समयमा चुनाव गर्नका लागि कुनै कसर बाँकी नराख्ने र अहिलेसम्म कार्यतालिकामा कुनै ठेस नलागेको आयोगको भनाई छ ।

कार्यक्रममा निर्वाचन आयुक्त इला शर्माले जस्तो सुनै समस्या र चुनौतीको सामना गर्न आयोग तयार रहेको बताए । चुनावको विरोध गरिरहेका दलहरुबाट जहाँ अवरोध हुन्छ त्यहाँ फेरी चुनाव गरेर भए पनि चुनाव सफल पार्ने आयुक्त शर्माको भनाई छ ।

यसैबीच आयोगका अनुसार प्रत्यक्ष निर्वाचनमा ६ हजार ३ सय ५३ जनाले उम्मेदवारी मनोनयनपत्र दर्ता गरेकोमा २० जनाको उम्मेदवारी बदर र २०५ जनाले उम्मेदवारी फिर्ता लिई कुल उम्मेदवार ६ हजार १ सय २८ जना निर्वाचनमा सहभागी छन् । जसमा पुरुष ५,४५६, महिला ६६८ र १ जना तेस्रो लिङ्गी रहेका छन् । समानुपातिक प्रणालीतर्फ विभिन्न १ सय २२ दलबाट ११,००३ जना उम्मेदवारको नाम बन्दसूचीमा समावेश छ । उम्मेदवारको बन्दसूचीमा नाम समावेश भएको उम्मेदवारको योग्यता सम्बन्धमा दावी विरोध गर्न निवेदन दिने कार्तिक ७ देखि १३ सम्मको समय दिइएकोमा हालसमम ३ उजूरी परेको आयोगको भनाई छ ।

पछिल्लो समय १० हजार ०१३ मतदान स्थल र १८ हजार ४ सय ५७ मतदान केन्द्र कायम गरिएको आयोगका प्रवक्ता वीरबहादुर राइले जानकारी दिए । अस्थायी मतदान केन्द्र तोक्नका लागि कार्य भइरहेको राईको भनाई छ । निर्वाचनलाई अपाङ्गमैत्री बनाउन १५ जिल्लाको ४९ मतदात केन्द्रमा र्‍याम बनाइएको राईले जानकारी दिए ।

आयोगले २०७० साल आषाढसम्म र त्यसपछि २०७० भाद्र १ देखि ७ गतेसम्म संचालित विशेष कार्यक्रम समेत गरी जम्मा १ करोड २४ लाख ७७ हजार २ सय ८१ संकलन भएकोमा १८ वर्ष मुनिको मतदाता र दोहोरो नाम हटाई हाल कुल मतदाता १ करोड २१ लाख ४७ हजार ८६५ कायम भएको जानकारी दिएको छ । त्यसमध्ये पुरुष ५९ लाख ८० हजार ८ सय ८१, महिला ६१ लाख ६६ हजार ८ सय २९ र तेस्रो लिङ्गी १ सय ५५ रहेका छन् । यसरी महिलाको प्रतिशत ५०.७७ र पुरुषको ४९.०२ रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us