
काठमाण्डु, ११ कात्तिक– ईङ्ग्लिस प्रिमियर लिग अन्तरगत आईतबार राति भएको खेलको अन्तिम समयमा फर्नान्डो टोरेसको गोलको मद्दतले चेल्सीले म्यान्चेस्टर सिटीलाई पराजित गरेको छ । चेल्सीले सिटीलाई १ का विरुद्ध २ गोलले पराजित गर्यो ।
खेलमा चेल्सीको लागि पहिलो गोल खेलको ३३ औं मिनेटमा जर्मन राष्ट्रिय टोलीका स्ट्राईकर आन्द्रे सुरेलले गरेका थिए । खेलमा एक–शून्यले पछि परेको युनाईटेडलाई बराबरीमा ल्याउन खेलको ४९ औं मिनेटमा अर्जेन्टीनाका खेलाडी सजिर्यो अग्युरोले उत्कृट गोल गरे । चेल्सीको मैदानमा कम से कम एक अंक लिने सिटीको सपना चेल्सीका स्पेनी खेलाडी टोरेसले पूरा हुन दिएनन् । खेलको ९० औ मिनेटमा गोल गर्दै टोरेसले चेल्सीलाई स्पस्ट जीत दिलाए ।
जीतसँगै लिगको शीर्ष स्थानमा रहेको आर्सनलसँग मात्र २ अंकको अन्तर कायम गर्दै चेल्सी लिग तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । चेल्सीको समान अंक रहेको लिभरपुल गोल अन्तरको आधारमा तेस्रो स्थानमा झरेको छ ।
आईतबार राति नै खेलिएका अन्य खेलमा सन्डरल्याण्डले न्युक्यासल युनाईटेडलाई २–१ ले पराजित गर्यो भने टोटेनह्यामले हल सिटीलाई शून्यका विरुद्ध १ गोलले पराजित गर्यो । स्वान्सी र वेस्ट ह्यामबीचको खेल भने बराबरीमा टुङ्गियो ।