बङ्गलादेशको राजनीतिक हड्तालमा पाँच जनाको मृत्यु

काठमाण्डु टुडे २०७० कार्तिक १० गते १६:११ मा प्रकाशित

ढाका–बङ्गलादेशमा प्रतिपक्षी दलले आइतबार प्रधानमन्त्री सेख हसिनाले राजिनामा दिनुपर्ने र नयाँ निर्वाचन गराउन कामचलाउ सरकार गठन गर्नुपर्ने माग गर्दै हडताल आरम्भ गरेका छन् भने यस विषयमा मुलुकको विभिन्न भागमा द्वन्द्व हुँदा तथा रेलमाथि आक्रमण हुँदा कम्तीमा पाँच व्यक्तिको मृत्युभएको छ ।
प्रहरीले प्रमुख प्रतिपक्षी बङ्गलादेश नेसनालिस्ट पार्टी (बीएनपी) का करिब तीन हजार समर्थकले पश्चिमी भागमा अवस्थित नगरकन्ड नगरको एक बजारमा लुटपात गर्दा तथा प्रहरीमाथि ढुङ्गा प्रहार गर्दा अधिकारीहरूले गोली प्रहार गरेको जानकारी दिएको छ ।
जिल्ला प्रहरी प्रमुख जमिल अहसनले आफूहरूले प्रतिरक्षामा गोली प्रहार गरेको र यसका कारण प्रतिपक्षी दलका एक कार्यकर्ताको मृत्यु भएको तथा अन्य पाँच जना घाइते भएको बताए ।
बङ्गलादेशमा तीन दिने हडताल आरम्भ भएको छ र मुलुकभर प्रदर्शन देखा परेको छ भने हजारौँ अतिरिक्त प्रहरी तथा अर्धसैनिक अधिकारी तैनाथ गरिएका छन् । मुलुकको अन्य भागमा चार अन्य व्यक्तिको मृत्युभएको छ ।
ढाकामा प्रतिपक्षी दलका समर्थकहरूले बसहरू जलाइदिएका छन् भने घरमा बनाइका एक दर्जनभन्दा बढी बम विस्फोट गराएका छन् । प्रहरीले पनि अश्रु ग्यास र रबर गोली प्रयोग गरेका छन् । हिंसा हुने त्रासमा पसल, व्यवसाय तथा विद्यालय बन्द भएका छन् । शनिबार प्रधानमन्त्री सेख हसिना तथा प्रतिपक्षी नेता खालेदा जियाबीच सङ्कट समाधान गर्ने विषयमा भएको वार्ता असफल भएपछि बीएनपी तथा उसका इस्लामी सहयोगीहरूले हडताल आह्वान गरेका हुन् ।
चालीस मिनेटको फोन वार्तामा प्रधानमन्त्री हसिनाले हडताल अन्त्य गर्न आग्रह गरेको र प्रतिपक्षी नेता जियाले अस्वीकार गरेको थाहा भएको छ । बङ्गलादेशमा यी दुई नेत्रीबीच शक्ति सङ्घर्ष चलिरहेको छ र उनीहरु बीच गत एक दशकमा कुराकानी भएको यो पहिलो पटक हो ।
बङ्गलादेशमा २०१४ को जनवरीमा आम निर्वाचन हुने भएको छ भने प्रतिपक्षले हसिनाको सरकारलाई राजिनामा दिन लगाउन र प्राविधिक विशेषज्ञको नेतृत्वमा कामचलाउ सरकार गठन गर्न यो हडताल आह्वान गरेको हो ।
दुई पटक प्रधानमन्त्री भइसकेकी जियाले निर्वाचन अगाडि निष्पक्ष सरकार गठन गर्नुपर्ने कानुनी प्रावधानलाई उल्लेख गर्दै यो सरकार गैरकानुनी भएको आरोप लगाएकी छिन ।
प्रधानमन्त्री हसिनाले त्यस्तो व्यवस्था गैरकानुनी हुने बताउँदै आफ्नो नेतृत्वमा सर्वदलीय सरकार गठन गर्ने प्रस्ताव राखेकी छिन । बीएनपीले यस प्रस्तावमार्फत प्रधानमन्त्री हसिनाले निर्वाचनमा धाँधली गर्ने बताउँदै यसलाई अस्वीकार गरेको छ ।
प्रतिपक्षी दलका समर्थकहरूले सत्ताधारी दलका समर्थक तथा प्रहरीसँग मुलुकभर भिडन्त गरेपछि तनाब बढेको हो । यसैका कारण हालसम्म सात व्यक्तिको मृत्यु भइसकेको छ भने सयौँ घाइते भएका छन् । शनिबार सुरक्षा व्यवस्था कडा बनाइएको थियो भने करिब दश हजार अर्धसैनिक तथा प्रहरी तैनाथ गरिएको जानकारी ढाका प्रहरीका प्रवक्ता मसुदुर रहमानले बताए ।
प्रतिपक्षी दलका समर्थकहरूले सत्ताधारी दलका दुई समर्थकलाई कुटेर मारेको तथा सबैभन्दा ठूलो इस्लामी पार्टी जमात–ए–इस्लामीका दुई कार्यकर्ताको हत्या गरिएको बताइएको छ ।
प्रश्चमी नगर राजशाहीमा प्रहरीसँगको भीडन्तमा बीएनपीका सहयोगी जमातका एक कार्यकताएको प्रहरीको गोलीका कारण मृत्युभएको बताइएको छ ।
प्रदर्शनकारीले उत्तरपश्चिमी जोयपुर्हत जिल्लामा दुई रेलमाथि आक्रमण गरेका छन् र एक डब्बामा आगो लगाइदिएका छन् । यसका कारण निकै व्यक्ति घाइते भएको स्थानीय प्रहरी प्रमुख हमिदुल अलामले बताए ।
अन्य दर्जनौ नगरमा पनि प्रतिपक्षी प्रदर्शनकारी तथा सत्ताधारी दलका कार्यकर्ताबीच द्वन्द्व भएको जानकारी प्रहरीले दिएको छ ।
ढाकामा आयोजित एक सभालाई सम्बोधन गर्दै कानुन उपमन्त्री क्वामरुल इस्लामले सत्ताधारी पार्टीले वार्ता गर्न चाहेको तर प्रतिपक्षी दलले हिंसाको बाटो छनौट गरेको बताए ।
बीएनपीका प्रवक्ता रिज्वी अहमदले सरकारले प्रहरीलाई प्रतिपक्षीको शान्तिपूर्ण प्रदर्शनमा आक्रमण गर्न आदेश दिएको आरोप लगाउँदै प्रधानमन्त्री हसिना निष्पक्ष सरकार गठन गर्न तयार भए आफूहरू वार्ताका लागि तयार रहेको बताए । उनले शुक्रबारदेखि आफ्ना १२ कार्यकर्ताको हत्या भएको, पाँचसय भन्दा बढी घाइते भएको र प्रहरीले एक हजार पाँचसय समर्थकलाई पक्राउ गरेको बताए ।
बीएनपीले आफ्नो माग मान्न अक्टोबर २४ को मिति तोकेको थियो भने प्रधानमन्त्री हसिनाको सत्ताधारी अवामी लिगले यसलाई अस्वीकार गरेपछि बङ्गलादेशमा तनाव बढेको हो ।
बङ्गलादेशमा राजनीतिक हिंसाको लामो इतिहास भए पनि सन् १९७१ पछि यो वर्ष सबैभन्दा घातक वर्षको रूपमा देखिएको छ ।
यहाँ एक विवादास्पद अदालतले पूर्व प्रधानमन्त्री जियाका सहयोगी इस्लामी नेताहरूमाथि मृत्यदण्डको निर्णय गर्न थालेपछि जनवरी देखि हालसम्म १५० व्यक्तिको मृत्यु भइसकेको छ । रासस/एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us