झापामा ओली र किराँतीको टक्कर, जाजरकोटका मतदाता यार्साको खोजीमा

काठमाण्डु टुडे २०७० कार्तिक १० गते १४:३९ मा प्रकाशित

kp-oli-gopal-kirati 1भद्रपुर– नेकपा (एमाले)का केपी शर्मा ओली र एकीकृत नेकपा (माओवादी)का कोचिला राज्य समितिका इन्चार्ज एवम् पूर्वमन्त्री गोपाल किराँतीबीच प्रतिस्पर्धा हुने भएपछि झापामा निर्वाचन क्षेत्रहरु मध्ये क्षेत्र नं ७ सर्वाधिक चर्चित क्षेत्रका रुपमा रहेको छ ।

मुलुकको राजनीतिक क्षेत्रमा प्रभावशाली नेताहरुको प्रतिस्पर्धाका कारण यस क्षेत्र आम नागरिकबीच सर्वाधिक चर्चा एवम् कौतुहलको क्षेत्रका रुपमा परिणत हुन थालेको हो । अघिल्लो संविधानसभाको निर्वाचनमा एमाले नेता केपी ओली एक हजार १४० मतको अन्तरले एकीकृत नेकपा (माओवादी)का उम्मेदवार विश्वजित लिङ्देनबाट पराजित भएका थिए ।

यसपल्टको संविधानसभाको निर्वाचनमा एकीकृत नेकपा (माओवादी) र नेपाली काँग्रेसले उम्मेदवार परिवर्तन गरेको हो । एकीकृत (माओवादी)ले गोपाल किराँतीलाई र नेपाली काँग्रेसले सुरेशकुमार योञ्यालाई उम्मेदवार बनाएका छन् । अघिल्लो संविधानसभाको निर्वाचनमा किराती सोलुखम्बुबाट निर्वाचित भएका थिए । यस क्षेत्रमा अहिले पाँच स्वतन्त्रसमेत २८ जना चुनावी मैदानमा होमिएका छन् ।

यार्सा खोज्न गएपछि मतदाता घटे

जाजरकोट–डोल्पामा पाईने यार्सागुम्वा संकलनमा गएका र अपाङ्गहरु मतदाता नामावलीमा नाम दत्र्ता नगराएका कारण जाजरकोटका मत्तदाता सङ्ख्या घटेको छ । त्यस्तै वैदेशिक रोजगारीका लागि अधिकांश युवाहरु विदेशिएपछि पनि मतदाता संङ्यामा कमी आएको हो ।

पहिलो संविधानसभाको चुनावमा जाजरकोटको कुल मतदाता ९७ हजार ४ सय रहेका थिए भने अहिले घटेर ६४ हजार ४ सय ९५ मा झरेको छ । कुल क्षेत्र २ वटा रहेको जाजरकोटमा पहिलो संविधानसभाका भन्दा अहिले उम्मेदवारको अनुहार पनि नयाँ रहेको छ ।

एकीकृत नेकपा माओवादीबाट पहिलो संविधान सभामा क्षेत्र १ वाट कालीबहादुर मल्ल र क्षेत्र २ वाट भक्तबहादुर शाह रहेका थिए भने अहिले क्षेत्र १ मा पूर्व स्वास्थ्य मन्त्री तथा एकीकृत माओवादीका नेता शक्तिबहादुर बस्नेत र क्षेत्र २ मा पुरानै अनुहार भक्तबहादुर शाहले उम्मेदवारी दिएका छन् ।

नेपाली कांग्रेसबाट क्षेत्र १ मा पहिले चिन्ता कुमारी वाग्ले र २ नम्वर क्षेत्रमा यज्ञबहादुर खत्रीले चुनावी मैदानमा लडेका थिए भने अहिले क्षेत्र १ मा दिपक जंग शाह र क्षेत्र २ मा राजीव विक्रम शाह रहेका छन् । त्यस्तै नेकपा एमालेबाट क्षेत्र १ मा एमाले जाजरकोटका अध्यक्ष डम्मरबहादुर सिंह र क्षेत्र २ मा पुरानै अनुहार कृष्ण विसी चुनावी मैदानमा छन् ।
पहिलो संविधानसभामा भारी मत ल्याएर एमाओवादीले जाजरकोटमा जितेको थियो ।

यसपटक जाजरकोटमा मतदान केन्द्र र मतदान स्थलको संङ्ख्या पनि बढेको निर्वाचन कार्यालय जाजरकोटमा प्रमुख गणेश बिक्रम शाहीले बताए । उनका अनुसार पहिले चुनावमा धेरै टाढा गएर जनताले मतदान गरेकामा अहिले सहज तरिकाले भोट हाल्ने वातावरण सिर्जना गर्नका लागि मतदान केन्द्र र स्थल बढाइएको उनले बताए ।

सवै दलहरु अहिले चुनावकै प्रचारमा व्यस्त देखिन्छन् । आचारसंहिता विपरीत खसी काटेर भोज भत्तेर गर्ने देखि विद्यालयमा आमसभा आयोजना गर्नेसम्मका कार्यक्रम हुने गरेको पाइन्छ । जिल्ला निर्वाचन कार्यालायमा पनि सो कुरा आएको र त्यसको लागि सचेत गराउने काम भएको निर्वाचन अधिकारी गणेह शाहीले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us