भोट र धानमा उस्तै चटारो

काठमाण्डु टुडे २०७० कार्तिक १० गते ११:४४ मा प्रकाशित

Dhan-bhaktapur_nepalकीर्तिपुर– चुनावको मिति नजिकिएका अवस्थामा उम्मेदवार आफ्नो प्रचारलाई तीव्र बनाउँदै गर्दा यतिखेर काठमाडौँ दक्षिण पश्चिम भेगका कृषकलाई भने धानखेती थन्काउन भ्याइनभ्याई भएको छ ।

चुनावका लागि भोट माग्न उम्मेदवार घरदैलोमा पुग्दै गर्दा अधिकांश कृषक भने दिउँसोको समयमा घरमा नभई खेतमा नै धान भित्र्याउन व्यस्त देखिन्छन् । धान भित्र्याउने समय भएका कारण अधिकाँश राजनीतिक दलले आफ्नो घरदैलो बिहानको समयमा गर्ने गरेका छन् भने दिउँसोको समयमा समीक्षा तथा अन्य किसिमका बैठकका लागि समय व्यवस्थापन गर्ने गरेका छन् ।

कृषक यतिखेर धान भित्र्याउन अत्यन्त व्यस्त बनेको बताउने काठमाडौँ छैमलेका कृषक हरिकुमार बस्नेत उम्मेदवारहरु खेतमा नै गएर भोट माग्ने गरेको बताउछन् । दसैँ अघिसम्म खासै चुनावको लहर नदेखिएको भए पनि दसैँलगत्तै उम्मेदवारले घरदैलो कार्यक्रमलाई अघि बढाएको उनले बताए ।

चुनावका कारण गाउँ क्षेत्र चुनावमय भइसकेको बताउने अर्का कृषक चन्द्रकुमार श्रेष्ठ अधिकाँश कृषकले कात्तिकको २० गतेसम्म धान थन्क्याइसक्ने बताउँछन् । उनका अनुसार काठमाडौँ निर्वाचन क्षेत्र नं १० अन्तर्गत पर्ने काठमाडौँ दक्षिण पश्चिम भेगमा एनेकपा (माओवादी), नेपाली काँग्रेस, नेकपा (एमाले), राप्रपा नेपाल, राष्ट्रिय जनमोर्चा, सङ्घीय समाजवादी लगायतका दलले आफ्नो चुनाव प्रचार तथा घरदैलोलाई सक्रिय रुपमा अघि बढाएका छन् ।

यस वर्ष मङ्सिर ४ मा चुनाव परेका कारण पनि कृषक चाँडै नै धान थन्क्याउन निकै व्यस्त बनेको उहाँले बताउनुभयो । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us